प्रतिनिधिसभा बैठक आज पनि बस्दै
Mayorsap
बुध, फागुन २८, २०८१ | ०८:५१ बजे

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आजको बैठकमा विभिन्न ११ वटा विधेयक पेश गर्ने कार्यसूची रहेको छ । बिहान ११ः०० बजे हुने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गर्ने भएको छ ।
संसद् सचिवालयले प्रकाशन गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्ने भएको छ ।
यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गर्ने छ । गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची छ ।