कर्मचारीहरूकाे ढोका फोड्ने प्रयास पछि काठमाडौं महानगरमा तनाव, उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा बैठक बस्दै

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं आज कार्यालयमा हाजिर भएका छन्। उनको हाजिर हुनेक्रममा ठूलो तनाव उत्पन्न भएको छ, तर अहिले उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा बैठक सुरु भएको छ।
गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि कर्मचारीहरूले कार्यालयको ढोका फोड्ने प्रयास गरेका थिए। उनीहरूले कुनै पनि हालतमा गुरागाईंलाई हाजिर गराउने अडान लिएका छन्।
गुरागाईंलाई रोक्न महानगर प्रहरी परिचालन गरिएको थियो, तर कर्मचारीहरूको दबाबका कारण उनले कार्यकक्षमा प्रवेश गरेका छन्। गुरागाईंलाई गत पुस ७ गतेदेखि बिदामा राखिएको थियो।
यस अघि, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले राजीनामा दिएका थिए, जसपछि महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद खाली रहेको छ।
कर्मचारीहरू प्रमुख प्रशासकीय अधिकृतको अभावमा तीन महिनादेखि तलब र भत्ता नपाएको भन्दै आक्रोशित बनेका छन् र अब कुनै पनि हालतमा गुरागाईंलाई कार्यालयमा हाजिर गराउने बताएका छन् ।