काठमाडौं महानगरका कर्मचारीले सोमबार तलब पाउने गरी प्रमुख प्रशासकीय अधिकृतले लगाए तोक


काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले कर्मचारीको तलबका लागि तोक लागाइदिएका छन् । शुक्रबार कार्यालय पुग्नासाथ अधिकृत गुरागाईंले महानगरका कर्मचारीको रोकिएको तलब सोमबार पाउने गरी तोक लगाइदिएका हुन् ।
१०३ दिनपछि बिहीबार कार्यालय पुगेर हाजिर गरेका अधिकृत गुरागाईंले पहिलो काम कर्मचारीलाई तलब दिन तोक लगाएका हुन् ।
काठमाडौं महानगरपालिकामा शिक्षकसहित तीन हजार ६०० बढी कर्मचारी छन् । शिक्षकले पाँच महिनादेखि तलब पाएका थिएनन् भने जनप्रतिनिधि र कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् ।
गत पुस ७ गतेदेखि बिदामा बसेका गुरागाईं बिहीबार कार्यालय हाजिर भएका थिए । उनी हाजिर गर्न पुगेलगत्तै महानगरमा केहीबेर तनाव भएको भयो । उनलाई रोक्न महानगर प्रहरी खटाइएको थियो ।
कर्मचारीहरूले भने गुरागाईंलाई साथ दिएर कार्यकक्षसम्म पुर्याएका थिए । शुक्रबार प्रमुख प्रशासकीय अधिकृत गुरागाईं निर्वाधरूपमा कार्यालय पुगेर काम गर्न सुरु गरेका छन् ।