विद्युत महसुल बक्यौता उठाउने प्रयास नै म पदबाट हट्नुपर्ने कारण बन्यो : कुलमान


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङले विद्युत् महसुल बक्यौता उठाउने आफ्नो प्रयासका कारण पदबाट हटाइएको बताएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै घिसिङले विद्युत महसुल बक्यौता उठाएकै कारण सरकारले आफूलाई हटाएको बताएका हुन् ।
उनले सार्वजनिक संस्थाको बक्यौता उठाउन खोज्ने आफ्नो प्रयासलाई राज्यविरुद्धको अपराध जसरी व्यवहार गरिएको समेत बताए । घिसिङले भने, ‘‘बक्यौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छ । सार्वजनिक संस्थाको बक्यौता उठाउन खोज्ने मेरो प्रयास राज्यविरुद्धको अपराध हो ? यसको जवाफ इतिहास र नेपाली जनताले अवश्य माग्नेछ ।’
घिसिङले सम्पूर्ण राज्यशक्ति नै आफूमाथि खनिएको कस्को स्वार्थको लागि थियो भन्ने बारेमा जनता जानकार रहेको दाबी समेत गरे । उनले भने, ‘नेपालको कानुनले निदृष्ट गरेको काममा खटिएको एक कर्मचारीमाथि राज्यको सम्पूर्ण शक्ति कसरी खटिएको थियो, कसको स्वार्थको विषयमा म माथि जाइलागेको थियो भन्ने नेपाली जनता आफैं जानकार छन् ।’
उनले मन्त्रिपरिषद् बैठकले आफूलाई हटाउने दिन पनि आफू मकवानपुरको एउटा विकट बस्तीमा विद्युत बाल्ने काममै खटिएको स्मरण समेत गरे । घिसिङले आफू विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बिदा भए पनि नागरिकको रुपमा गर्नुपर्ने कर्तव्यबाट पछि नहट्ने प्रतिबद्धता समेत व्यक्त गरे ।