Ad Image

केपी ओली कप क्रिकेट : काठमाडौं र हटौंडा विजयी

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743949354.jpg

कास्की । पोखरामा सञ्चालन भइरहेको ‘दोस्रो केपी ओली कप टी–२० राष्ट्रिय खुला क्लबस्तरीय पुरुष क्रिकेट प्रतियोगिता’को आजको खेलमा काठमाडौं र हटौंडा विजयी भएका छन् । 

 

मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा जारी उक्त प्रतियोगिताको समूह ‘ए’मा रहेको सिइसी काठमाडौं दुई खेलमा जित हासिल गर्दै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । स्याङ्जासँगको आजको खेलमा काठमाडौंले जितका लागि पाएको एक सय २७ रनको लक्ष्य १४ ओभरको पहिलो बलमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

 

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको स्याङ्जाले २० ओभरमा सात विकेट गुमाउँदै १२६ रन बनाएको थियो । काठमाडौंका लागि दीपेन्द्र रावतले ४९ र रित गौतमले ३८ रन बनाए । बलिङतर्फ स्याङ्जाका लागि अस्विनी रानाले दुई तथा किरण भट्टराईले एक विकेट लिए । काठमाडौंले यसअघि हेटौंडालाई पराजित गरेको थियो ।

 

आजको पहिलो खेलमा हेटौंडा स्पोट्र्स एकेडेमीले पोखरा महानगरपालिका क्रिकेट क्लबलाई चार विकेटले हराएको थियो । टस जितेर ब्याटिङ गरेको पोखरा महानगरले १६ ओभरको पाँचौं बलमा सबै विकेट गुमाउँदै ७१ रन मात्र बनायो । पोखराका लागि सुमित श्रेष्ठले ३९ बल खेल्ने क्रममा तीन चौकाको मद्दतमा २६ रन बनाए ।  प्रमोद बास्तोलाले १६ बलमा तीन छक्का हान्दै २२ रन तथा दीपक बरालले १४ रन बनाए ।

 

जितका लागि ७२ रनको लक्ष्य हेटौंडाले १२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । हेटौंडाका लागि सौरभ खड्काले ३२ बलको सामना गर्ने क्रममा चार चौका हान्दै ३४ रन जोडे । पोखराको लगातार यो दोस्रो हार हो । यसअघि शनिबार उद्घाटन खेलमा पोखरा स्याङ्जासँग पराजित भएको थियो ।

 

प्रतियोगितामा १६ टोली सहभागी छन् । विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछन् । ‘म्यान अफ दी सिरिज’ले रु ३० हजार, उत्कृट बलर र ब्याटरले जनही रु १० हजार प्राप्त गर्ने एकेडेमीले जनाएको छ ।