Ad Image

राजावादीहरुको वास्तविक चरित्र चैत १५ को घटनाले उदांगो बनायो : प्रधानमन्त्री ओली

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744116857.jfif

सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरुको वास्तविक चरित्र चैत १५ गते भएको विध्वंसकारी गतिविधिबाट उदांगो भएको बताएका छन् । मंगलबार नेकपा एमाले सिरहाको ११ औं जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजावादीहरुका त्यस प्रकारका गतिविधि अस्वीकार्य भएको बताए । एमाले अध्यक्ष समेत रहेका ओलीले भने, ‘यस्ता खालका विध्वंसकारी तत्वलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिँदैन। हामीले स्वीकार गर्नु पनि हुँदैन। त्यसको लागि तपाईँ हामी सबै मिलेर सही जवाफ दिनै पर्छ।’
 

उनले ‘राजतन्त्र फर्किने कुनै सम्भावना पनि नभएको बताए । अर्काको घरमा आगो लगाउने, औषधी उद्योगमा आगो झोस्ने, मिडियामा आक्रमण गर्ने तत्वको हातमा सत्ता पुग्यो भने के हुन्छ होला ?’ प्रधानमन्त्री ओलीले प्रश्न गरे।  ‘राजतन्त्र फर्किन्छ भन्ने कुरा राति देखेको सपना होइन, दिउँसै घाम लागेको बेला देखेको सपना हो। दिउँसो देखेको सपना कहिल्यै पुरा हुँदैन। राजतन्त्र कुनै हालतमा फर्किंदैन’, उनले भने । ठूलो बलिदानी पश्चात् प्राप्त यो व्यवस्था सबैभन्दा उत्कृष्ट भएको प्रधानमन्त्री ओलीले ठोकुवा गरे। 

 

उनले भने, ‘यो दुनियाँकै उत्कृष्ट व्यवस्था हो । सामाजिक न्याय, समानता र सुशासनको पक्षमा हाम्रो ध्यान जानु पर्छ। यसको विकल्पको परिकल्पना पनि गर्न सकिँदैन।’ फरक प्रसंगमा उनले देशका ठूला र पुरानो पार्टी मिलेर सरकार चलाई रहेकोले यो सरकार चुनावसम्मै जाने बताए ।  नेकपा एमाले र नेपाली काँग्रेससहित अरु पार्टीपनि मिलेर यो सरकार बनेको छ। सरकार चुनावसम्मै जान्छ। आजै सरकार ढल्छ। भरे नै सरकार ढल्छ भन्नेहरू पनि थाकिसके। नेतृत्व फेरबदल हुनसक्छ। तर, सरकार चुनावसम्मै जान्छ।’