एनएसएल फुटबलः काठमाडौं रेजर्सको पहिलो जित


काठमाडौं । अमाडोउ डिओपको निर्णायक गोलसँगै काठमाडौँ रेजर्सले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा काठमाडौंले बुटवल लुम्बिनी एफसीविरुद्ध १–० गोल अन्तरले जित निकालेको हो । यस जितसँगै तेस्रो स्थानमा उक्लिएको काठमाडौँले चार खेलबाट पाँच अङ्क पु¥याएको छ । समान खेल खेलेको बुटवलको भने एक अङ्क छ । बुटवल अङ्क तालिकामा पुछारमा छ ।
काठमाडौंका डिओपले खेलको ८८ औँ मिनेटमा गोल गरेका हुन् । भिन्सेन्ट कोजिइल्लोसँग तालमेल मिलाउँदै बक्स लाइन नजिकबाट उनले प्रहार गरेको बललाई बुटवलका गोलकिपर दीप कार्कीले बचाउन सकेनन् । अन्ततः काठमाडौंले खेल जित्यो । उक्त प्रतियोगितामा भोलि पोखरा थन्डर्स र धनगढी फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ ।