ऊर्जा राज्यमन्त्रीले सोधे सचिवलाई २४ घण्टे स्पष्टीकरण, आसनग्रहणमा बोलाउँदा नआएको आरोप


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । चैत २५ गते आयोजना गरेको ७२ औं सिचाइ दिवस कार्यक्रममा पदीय आचरण विपरीतको कार्य गरेको भन्दै राज्यमन्त्री तामाङले सचिव आचार्यलाई स्पष्टीकरण सोधेका हुन् । सो कार्यक्रममा आफू प्रमुख अतिथि भएर उपस्थित हुँदा उद्घोषकले आसनग्रहणमा बोलाउँदा सचिव आचार्य मञ्चमा नआई बेवास्ता गरी निस्किएको आरोप लगाएका छन् ।
महानिर्देशक सञ्जीव बरालले पटक-पटक आसनग्रहणको आग्रह गर्दा पनि राज्यमन्त्री सहभागी कार्यक्रममा आफू बस्न तयार नभएको भन्ने तुच्छ अभिव्यक्ति दिएको, पदीय आचरण पालना नगर्नुको साथै पदीय गरिमासमेत कायम गर्न नसकेको, नेपाल सरकारको सचिव पदको गरिमा र मर्यादालाई समेत धज्जी उडाउने गरी कार्यक्रम बहिष्कार गरेको तपाईलाई अनुशासनको कार्बाही किन गर्नु नपर्ने हो ?’, स्पष्टीकरणमा भनिएको छ ।
विभागीय मन्त्री प्रमुख अतिथिको रूपमा उपस्थित हुँदा पदीय आचरण विपरीतको कार्य के कति कारणले गरेको भन्दै ‘निजामती सेवा २०५९ को दफा ५९ बमोजिमको सजाय किन नगर्नुपर्ने हो ?’ भनी राज्यमन्त्री तामाङले सचिवलाई सोधेका छन् ।
