केपी ओलीबिनाको एमाले बनाउँछु भन्नेहरु सफल हुँदैनन् : प्रधानमन्त्री ओली
आफू नेतृत्वको सरकारका पालामा अनेकौँ विकास र प्रविधिका योजना ल्याइएको प्रधानमन्त्रीको जिकिर
Mayorsap
शुक्र, चैत २९, २०८१ | १८:२० बजे
रुपन्देही । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कमजोर पारेर समृद्धि र विकासको यात्रा रोक्ने प्रयास सफल नहुने बताएका छन् । पार्टीको रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले एमालेलाई विभाजनको कोसिस गर्ने देशी–विदेशी प्रतिक्रियावादी तत्वहरू असफल भएको टिप्पणी गरेका हुन् ।
अध्यक्ष ओलीले भने, “एमालेलाई सिध्याउँछु, केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरु सफल हुँदैनन् । म धेरै बाँच्ने होइन, त्यसपछि पनि मभन्दा बलवान् नेताहरू पार्टीमा आउनेछन् । यस देशको विकासको भाग्यरेखा हामी आफैँ कोर्छौं । मान्छेको घरमा आगो लगाएर, पसलबाट चोरेर भाग्नेहरूले क्रान्ति र परिवर्तनका लागि केही गर्न सक्दैनन् ।”
उनले राजतन्त्र र पञ्चायतकालमा मुलुकमा कुशासन र अव्यवस्था भएकाले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट लोकतान्त्रिक गणतन्त्र ल्याएको र यसलाई बलियो बनाउन सरकारले आफ्ना सबै प्रयास गरिरहेको बताए । प्रधानमन्त्री ओलीले विगतमा आफ्ना कुशासन र निरङ्कुशताको राज सम्झिएर प्रतिगामी तत्वहरूले यस व्यवस्थालाई बदनाम गर्न अराजकता र अफवाह फैलाउन खोजे पनि त्यसबाट कुनै विचलित नभई समृद्धि र सुशासनको यात्रामा योगदान दिन सबैमा आग्रह गरे । अहिलेको आधुनिक समयमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तका पछि लाग्नु बेकार भएको उल्लेख गर्दै उनले लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउँदै जनताको समृद्धि र विकासका चाहना पूरा गर्न वर्तमान सरकार कटिबद्ध भएको बताए ।
प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारका पालामा लुम्बिनीमा विभिन्न राजमार्ग, अस्पताल, अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, ध्यान केन्द्र, कृषि उत्पादन क्षेत्रको विकासजस्ता अनेकौँ विकास, प्रविधिका योजना र कार्यक्रम ल्याइएको जिकिर गरे ।