झापामा एमालेको जागरण सभा आज, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने


झापा । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदैछन् । आज दमकमा हुने विशाल जागरण सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली बिहान १० बजे भद्रपुरतर्फ जाने कार्यक्रम छ । लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा र प्रतिगामी चलखेलका विरुद्ध एमालेले कोशी प्रदेश स्तरीय जागरण सभा गर्न लागेको हो ।
सभामा सहभागी हुनका लागि कोशी प्रदेशका गाउँगाउँबाट एमालेका कार्यकर्ताहरू दमक झरिरहेका छन् । एमालेले हिजो साँझ पत्रकार सम्मेलन गरेर जानकारी दिए अनुसार कार्यक्रम स्थलको पूर्व तर्फबाट आउने सवारी साधनहरु रतुवा पुल पारी रोकेर नारा जुलुस सहित सहभागीहरू पशुहाटस्थित कार्यक्रम स्थलमा प्रवेश गर्नेछन् ।
यसैगरी पश्चिमतिरबाट आउने सहभागीहरू पश्चिम बसस्टेन्डमा सवारी रोकेर नारा जुलुस सहित कार्यक्रम स्थल प्रवेश गर्नेछन् । जागरणसभालाई व्यवस्थित गर्नका लागि करिब २ हजार स्वयं सेवक परिचालन गरिएको पार्टीको कोशी प्रदेश इन्चार्ज एवं स्थायी कमिटी सदस्य शेरधन राईले जानकारी दिए ।