Ad Image

कर्फ्यूका कारण वीरगञ्जको रात्रि बजार स्थगित

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744466710.jpg

वीरगञ्ज । पर्साको वीरगञ्जमा नयाँ वर्ष २०८२ को स्वागतमा आयोजित रात्रि बजार स्थगित भएको छ । हनुमान जयन्तिको अवसरमा आज आयोजित शोभा यात्रामा दुई समुदायबीच भएको झडप हिंस्रक भई स्थानीय प्रशासनले कर्फ्यू जारी गरेपछि महानगरपालिकाले रात्रि बजार स्थगित गरेको हो ।

 

भोलिको रात्रि बजार लाग्ने नलाग्ने विषयमा भने परिस्थिति अनुरुप निर्णय लिइने छ । कर्फ्यु जारी रहने वा नरहने विषयले भोलिको रात्रि बजारको निर्णय हुने महानगरले जनाएको छ । वीरगंज महानगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु भएको रात्रि बजार आइतबारसम्म संचालन हुने लक्ष्य रहेको थियो ।

 

नयाँ वर्ष २०८२ को अवसर पारेर वीरगञ्ज महानगरपालिकाले आदर्शनगर स्थित पुरानो बसपार्कमा ‘रात्रि बजार’ आयोजना गरेको थियो । नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिएको रात्रि बजारले वीरगञ्जको अर्थतन्त्र चलायमान बनाउनुका साथै अबेरसम्म बजार सञ्चालन हुने वातावरण बनाउने विश्वास लिइएको थियो ।  
यस अघिका वर्ष पनि महानगरले रात्रि बजार संचालन गर्दै आएको थियो ।  

 

महानगरले रात्री बजार सञ्चालनका लागि विभिन्न संघ संस्थासँग सहकार्य गरेको छ । ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगञ्ज साइकलिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआरसँगको समन्वयमा महानगरले रात्रि बजार लगाएको हो ।