सरकार फेरिने चर्चाकाबीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै
Mayorsap
बुध, बैशाख ३, २०८२ | ०९:१९ बजे

काठमाडौं । सत्ताधारी प्रमुख दलका नेता सम्मिलित सरकार सञ्चालन सम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ । सरकारको भविष्यबारे अनेक शंका/उपशंका र प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार भएको एक घण्टा लामो छलफलपछि आज साँझ संयन्त्रको बैठक बस्न लागेको हो ।
मंगलबार प्रधानमन्त्री ओली र देउवाबीच गभर्नर नियुक्ति, महत्वपूर्ण निकायमा बढुवा, शिक्षकलगायतको आन्दोलन र सरकारको डेलिभरीलाई लिएर कुराकानी भएको बताइन्छ । केही दिनयता सरकारमा सहभागी कांग्रेस नेताहरूबाटै सरकारको काम कारवाही र प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर टिकाटिप्पणी हुन थालेको छ ।
कांग्रेस नेता शेखर कोइराला, महामन्त्री गगन थापालगायतले सरकारका काम कारवाही र प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर सन्तुष्ट देखिंदैन । विपक्षी दलका नेता प्रचण्डले पनि सरकार फेरिने दाबी गरिरहेका छन् ।
संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा छन् । यस्तै, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पार्टी उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् ।