तनहुँको भानु नगरपालिकाको चन्द्रावती–घलेछाप सडक स्तरोन्नति गर्न सुरु


तनहुँ । भानु नगरपालिका–१२ स्थित भिसी शेरबहादुर मोटरमार्गको चन्द्रावती–घलेछाप सडकखण्ड स्तरोन्नति थालिएको छ । सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालयको बजेटबाट उक्त खण्ड स्तरोन्नति थालिएको हो ।
सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रु एक करोड बजेटमा उक्त खण्डअन्तर्गत ढुङ्गेधारा घुम्तीबाट ४७० मिटर कालोपत्रसहित आवश्यक संरचना निर्माण भइरहेको वडा सदस्य सुदीप केसीले जानकारी दिए ।
त्यस्तै, सहरी विकास मन्त्रालयको रु एक करोड बजेटबाट चार सय ९० मिटर कालोपत्रसहित अन्य संरचना निर्माण गरिने केसीले जानकारी दिए । पूर्वाधार विकास कार्यालयमार्फत कार्यान्वयन भएको रु २० लाख बजेटबाट सुरुआती बिन्दु चन्द्रावतीमा १८० घनमिटर ग्याविन जाली र ५४ घनमिटर पक्की नाला निर्माणको काम सम्पन्न भइसकेको छ ।
भानु नगरपालिकामार्फत ठेक्का लागेको निर्माण पक्षले पटकपटक समय थप गर्दा समेत निर्माण नगरेको सुरुआती बिन्दुबाट कुडुलेसम्मको ठेक्का तोडी रु ७५ लाखमा करिब नौ सय ५० मिटर कालोपत्र सुरु गरिएको केसीले बताए ।
हाल भइरहेको चार सय ७० मिटर कालोपत्र सम्पन्न हुन केही दिन लाग्ने जनाइएको छ । निर्माण कार्य भइरहँदा माथिल्लो घलेछाप, ओख्ले, बयापानी जाने उपभोक्ताले वैकल्पिक मार्ग चन्द्रावती–अर्चले–आरबाजेमार्फत यात्रा गर्न आग्रह गरिएको छ ।