‘सुरक्षित वीरगंज’ अभियानमा बैंकहरूको सहकार्य : सिसि क्यामेराका लागि १७.७५ लाख सहयोग


वीरगंज । वीरगंज महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सुरक्षित वीरगंज’ अभियानलाई थप सशक्त बनाउन नगरभित्रका १६ वटा बैंकले संयुक्त रूपमा १७ लाख ७५ हजार रुपैयाँ सहयोग गरेका छन् । सहयोग रकम सिसि क्यामेरा जडान गरी सार्वजनिक सुरक्षा सुदृढ गर्न प्रयोग गरिनेछ ।
बैंकहरुमध्ये सबैभन्दा ठूलो सहयोग नबिल बैंकले ३ लाख रुपैयाँ सहयोग गरेको छ । सहयोग संकलनको समन्वय नेपाल बैंकर्स एसोसिएसन पर्साका संयोजक एवं लक्ष्मी बैंक वीरगंज शाखाका प्रमुख रोहिणी आचार्यले गरेका थिए ।
महानगर प्रमुख राजेशमान सिंहको आह्वानमा बैंकहरू ‘सुरक्षित वीरगंज’ अभियानमा एकजुट भएका हुन् । सिंहले सुरक्षा प्रविधिको माध्यमबाट वीरगंजलाई सुरक्षित र व्यवस्थित बनाउने लक्ष्यसहितको यो पहलमा बैंकहरूको योगदान प्रेरणादायक भएको बताए ।
महानगरको नेतृत्व, सेफर वीरगंज तथा जिल्ला प्रहरी कार्यालय पर्साको सहकार्यमा संकलित रकमबाट वीरगंजका विभिन्न स्थानमा नयाँ सिसि क्यामेरा जडान गरिनेछ ।
सिसि क्यामेराले शहरी सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले अभियानको प्रशंसा गरे । सोमबार आयोजित एक कार्यक्रमका बीच बैंकहरुले प्रदान गरेको सहयोग महानगर प्रमुख सिंहको रोहबरमा सेफर वीरगंजलाई हस्तान्तरण गरिएको हो ।