Ad Image

कश्मीरमा आतंकवादी आक्रमण, नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु

User Image Mayorsap | ४ हप्ता अगाडि
Image of storage/news/1745372623.jpg

काठमाडौं । भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार आतंककारी हमलामा परेर एकजना नेपालीको ज्यान गएको छ । भारतीय  सञ्चारमाध्यमले सार्वजनिक गरेको मृतकको सूचीमा नेपालका सन्दीप सुवेदी पनि रहेका छन् । तर उनको नेपालको ठेगाना खुलेको छैन ।

 

आतंककारी हमलामा परेर मारिएका २६ जनामध्ये १६ जना मृतकको नाम सार्वजनिक भएको छ ।  हत्या हुनेमा एक जना यूएइका पनि रहेका छन् भने बाँकी भारतका  विभिन्न राज्यका रहेका छन् । मृतकहरू संख्या बढ्न सक्ने भारतीय समाचार एजेन्सीहरूले बताएको छ ।

 

आतंककारीहरुले हिन्दूलाई छानिछानी हत्या गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । अनन्तनाग जिल्लाको पहलगाम क्षेत्रमा रहेको पर्यटकीय क्षेत्रमा  घुमिरहेका पर्यटकलाई उनीहरुको नाम र देश सोध्दै हिन्दू नाम भएका जतिलाई गोली हानेर भागेका थिए । लश्कर ए तैयबाले सो आक्रमणको जिम्मेवारी लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
 

पीडितहरूका अनुसार ती आतंककारीको सानो समूहले पहिले पर्यटकको नाम, ठेगाना सोधेका थिए र त्यसपछि धमाधम गोली बर्साउन थाले । त्यसपछि वरपर रहेका अन्य पर्यटकलाई गोली हानेर भागेका थिए । सेना र प्रहरीको वर्दीमा रहेका आतंककारीको संख्या तीन देखि चार जना रहेको बताइएको छ । ती सबैसँग एके–४७ र अन्य हतियार साथ थिए। 

 

सरक्षा निकायले अहिले पूरै क्षेत्रलाई घेराबन्दी गरिएको छ। आतंककारीहरुको खोजी गर्न खोजी कुकुर, ड्रोन र हेलिकप्टरको निरन्तर प्रयोग भइरहेको जम्मु काश्मिर प्रहरीले जनाएको छ । जसअनुसार सीआरपीएफ, बीएसएफ र सेनासहित जम्मू कश्मीर पुलिसले सम्पूर्ण क्षेत्रमा ठूलो मात्रामा खोज अभियान सुरु गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

 

सो घटना लगत्तै गृहमन्त्री अमित शाह त्यहाँको स्थितिको जानकारी लिन श्रीनगर पुगेका छन्। अमित शाहले जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लासँग श्रीनगरमा हिजो राती नै उच्चस्तरीय बैठक गरेका थिए । 

 

प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई आतंकवादी हमला भनेका छन् । उनले हमलामा संलग्नलाई कुनै हालतमा नछाडिने उल्लेख गरेका छन् । मोदीले यस घटनाको कडा शब्दमा निन्दा गर्दै भनेका छन्, ‘यस जघन्य घटनाको पछाडि जो छन्, उनीहरूलाई कडा सजाय हुनेछ । हामी उनीहरूलाई छाड्ने छैनौँ ।’