सहकारी संस्थाहरुको अनुगमन गर्दै काठमाडौं महानगर


काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरुको नियमित र आकस्मिक अनुगमन सुरु गरेको छ । महानगरको सहकारी विभागका प्रमुख नमराज ढकालको संयोजकत्वमा गठित सहकारी अनुगमन टोलीले गएको महिनादेखि अनुगमन गरिरहेको हो ।
अहिलेसम्म १० वटा सहकारी संस्थाको अवस्था हेरिएको छ । यसपटक ४० वटाको अनुगमन गर्ने लक्ष्य राखिएको छ । अनुगमनका लागि ५६ वटा सूचक निर्धारण गरिएका छन् । यिनै सूचकका आधारमा अनुगमन हुन्छ । अनुगमनमा जनप्रतिनिधि, कर्मचारी, वित्तीय विश्लेषक र अभियानकर्तासहितको टोली छ । सहकारीहरुलाई ३ भागमा वर्गीकरण गरेर अनुगमन योजना बनाइएको टोलीका संयोजक ढकालले जानकारी दिए । उनका अनुसार गुनासा आएका, असल अभ्यास भएका र २५ करोड रुपैयाँभन्दा धेरै लगानी भएका सहकारी प्राथमिकतामा छन् ।
काठमाडौं महानगरपालिका सहकारी ऐन २०७४ को दफा ७९ र दफा १९६, नेपाल सरकार, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयबाट जारी बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको सुपरीवेक्षण, निरीक्षण तथा अनुगमन निर्देशिका, २०७७ को दफा ३० को उपदफा (२) बमोजिम समिति गठन गरिएको हो । समितिलाई अनुगमन सूचकको अधिनमा सम्बन्धित वडा समितिसँगको समन्वय र सहयोगमा अनुगमन गर्ने जिम्मेवारी दिइएको छ । टोलीले वित्तीय विश्लेषक, परामर्शदाता र विज्ञको सहयोगमा नियामकीय क्षेत्रभित्र पर्ने सहकारी संस्थाहरुको अनुगमन गर्ने र प्रतिवेदन तयार पार्नेछ ।
महानगरपालिका कार्यक्षेत्र भएका १ हजार ९१७ वटा सहकारी संस्था छन् । यीमध्ये २०८०/०८१ को साधारण सभाको विवरण अद्यावधिक गराउनेको संख्या ७५० रहेको छ । सहकारी तथा गरिवी सम्बन्धी एकीकृत व्यवस्थापन सूचना प्रणाली (कोअपरेटिभ एण्ड पोभर्टी रिलेटेड म्यानेजमेन्ट इन्फरमेसन सिस्टम कोपोमिस) मा दर्ता भएका सहकारीको संख्या १ हजार ७४८ छ । २ वटा समस्याग्रस्त घोषणा भएका सहकारी छन् ।
टोलीमा काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष सुमन के. सी., सहकारी विभागका शाखा अधिकृत नारायण वि.क., लेखापाल दिपेन्द्र के. सी. सदस्य छन् । सहकारी नियमन महाशाखा प्रमुख हरिबहादुर पाटा मगर समितिको सदस्य सचिव छन् ।