वीरगंजका विद्यालय र अस्पताल आसपास सुर्तीजन्य पदार्थ बिक्री नगर्ने सहमति


पर्सा । वीरगंजलाई सफा, स्वच्छ र सुन्दर बनाउन वीरगंज महानगरपालिका र पान, गुटका तथा सुर्तीजन्य पदार्थ व्यवसायी संघबीच सहमति भएको छ । महानगर र संघबीच भएको छलफलमा पान, गुटका तथा सुर्तीजन्य पदार्थ सेवन गरेर जथाभावी फोहोर हुन नदिन सहमति भएको हो ।
छलफलमा पान पसलमा अनिवार्य डस्टबिन राख्ने, जथाभावी थुक्न र फोहोर गर्न नदिने विषयमा व्यवसायी सहमत भएका छन् । त्यसैगरी गुटका तथा सुर्ती जन्य पदार्थहरूको खुल्ला रूपमा बिक्री वितरणमा समेत कडाइ गरिने भएको छ । विद्यार्थीलाई सुर्तीजन्य पदार्थ बिक्री गर्न प्रतिबन्ध लगाउने, विद्यालय र अस्पताल क्षेत्र वरपर बिक्री गर्न नपाइने विषयमा समेत महानगर र व्यवसायीबीचमा सहमति भएको छ ।
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगंजलाई स्वच्छ र सफा सहर बनाउने उद्देश्य अनुसार उक्त कार्यको थालनि गरेको बताए । उनले भने, “हामी वीरगंजलाई स्वच्छ, सफा र मर्यादित सहर बनाउनेतर्फ प्रतिबद्ध छौं। यो पहल त्यसकै एउटा महत्वपूर्ण पाटो हो।”
व्यवसायी संघका प्रतिनिधिहरूले पनि सहमतिमा हस्ताक्षर गर्दै सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिबद्धता जनाएका छन् । पान व्यवसायी संघ पर्साका अध्यक्ष लाल बहादुर चौरसियाले विद्यालय जाने बालबालिका, अस्पतालमा उपचार गरिरहेका बिरामी र अन्य नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै यस्ता पदार्थहरूको सिमित र अनुशासित बिक्री प्रणालीमा सहयोग गर्न आफूहरु तयार भएको बताए ।
साथै व्यवसायी संघले नै पान, गुटका तथा सुर्तीजन्य पदार्थ सेवन गरेर जथाभावी नथुक्न, र्यापर जथाभावी नफाल्न, फोहोर जथाभावी नगर्न भन्दै सचेतनामुलक जागरण र्याली प्रदर्शन गर्दै नागरिकमा सचेतना फैलाउने प्रतिबद्धता समेत जनाएका छन् । महानगरपालिकामा व्यवसाय दर्ता गरेर मात्रै आफ्नो व्यवसाय संचालन गर्न पनि उनीहरु तयार भएका छन् ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले महानगरले अब बजार अनुगमन गर्ने, नियम उल्लंघन भएमा कार्बाही गर्ने र नागरिकबीच चेतना फैलाउने कामलाई तीव्र बनाउने बताए ।
सार्वजनिक हितका लागि गरिएको यो पहलले वीरगंजको सफाइ अभियानमा नयाँ गति ल्याउने अपेक्षा गरिएको छ।