भूमिमन्त्री बलराम अधिकारीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी


काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई शिक्षा मन्त्रालयको पनि जिम्मेवारी तोकिएको छ ।
शिक्षामन्त्री विद्या भट्टराईले दुई दिनअघि राजीनामा दिएपछि उक्त मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीमातहत नै थियो । तर अब उक्त मन्त्रालय भूमिमन्त्री अधिकारीलाई तोकिएको हो ।
बुधबारबाट लागू हुने गरी अधिकारीलाई शिक्षाको पनि जिम्मेवारी दिइएको प्रधानमन्त्री ओलीको सचिवालयले बताएको छ । तर यसको औपचारिक जानकारी मन्त्रालयले गराइसकेको छैन ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार यसको जानकारी वैशाख १२ गते बस्ने प्रतिनिधिसभा बैठकमा गराइनेछ । बुधबार बिहान शिक्षकहरूसँगको वार्तामा पनि मन्त्री अधिकारी उपस्थित थिए ।
’अहिले उहाँलाई शिक्षकहरूसँगको वार्तामा जान र शिक्षा मन्त्रालयसँग सरोकार रहेका विषयको बैठकमा सहभागी हुन जिम्मेवारी दिइएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘यसको जानकारी १२ गते बस्ने प्रतिनिधिसभा बैठकमा गराइने छ ।’
शिक्षा मन्त्रालय प्रवक्ता नीलकण्ठ ढकालका अनुसार अहिलेसम्म अधिकारी शिक्षा मन्त्रालयमा प्रवेश गरेका छैनन् । उनले भने, ‘मन्त्रीज्यू यहाँ आइसक्नु भएको छैन । उहाँलाई शिक्षाको पनि जिम्मेवारी दिएकोबारे हामीलाई जानकारी भएन ।’