शिक्षक आन्दोलनलाई छिटो सम्बोधन गर्न सरकारसँग सांसदहरूको माग


काठमाडौं । सांंसदहरुले शिक्षकका आन्दोलनलाई सरकारले सम्बोधन गर्न ढिलाइ गर्न नहुने सुझाव दिएका छन् । आज राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २७५ औँ बैठकमा समितिका सांसदहरुले लामो समयसम्म शिक्षक आन्दोलनरत रहँदा पनि सरकारले गम्भीर रुपमा नलिएकाले तत्काल सम्बोधन गर्नका लागि समितिमार्फत सरकारलाई सुझाव दिनुपर्ने बताएका हुन् ।
बैठकमा सांसद गोमादेवी तिमल्सेनाले लामो समयको आन्दोलनले विद्यार्थीको पढाइमा असर परिरहेकाले यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताइन् । “अहिले पनि शिक्षक विभिन्न मागसहित आन्दोलनरत छन् । जसले गर्दा विद्यार्थीको भर्ना रोकिएको अवस्था छ । उनीहरुको आन्दोलनलाई कसरी सम्बोधन गर्न सकिन्छ ? भनेर सरकारलाई सुझाव दिनुपर्छ”, उनले भनिन् ।
उनले गोरखास्थित बारपाकमा २०७२ को भूकम्पपछिको पुनर्निमाण र सामाजिक अवस्थाबारे अवलोकन गर्न आवश्यक रहेको सुझाव दिए । सांसद सुमित्रा विसीले पछाडि परेका प्रदेशहरुलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिनुपर्ने माग गरे । समितिका सभापति मायाप्रसाद शर्माले बैठकमा उठाइएका विषयबस्तुलाई सम्बोधन गर्न छलफल गरिने प्रतिबद्धता जनाए ।