बागमती नगरपालिकाकाका निलम्बित मेयरसहित ६ जनाविरुद्ध भ्रष्टचारको मुद्दा दायर


सर्लाही । सागरनाथ वनको जग्गा अतिक्रमण गरी निजी ताल निर्माण गरेको अभियोगमा जिल्ला अदालत मलंगवामा बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत थापा र उपप्रमुख लीलाकुमारी मोक्तानसहित ६ जनाविरुद्ध वन मुद्दा दायर भएको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, नगरपालिकाका इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध मुद्दा दर्ता भएको हो ।
मुद्दामा वन कार्यालयले उनीहरुविरुद्ध १ अर्ब ४९ करोड ३९ लाख ४३ हजार ३ सय ३७ रुपैयाँ बिगो कायम गरेको छ । थापा गत स्थानीय तह निर्वाचनमा माओवादीबाट मेयरमा निर्वाचित भएका थिए । बागमती नगरपालिकको वडा नम्बर ४ र १२ मा पर्ने सागरनाथ वन विकास परियोजनाको स्वामित्वमा रहेको मुर्तिया सेक्टरअन्तर्गत कर्मैया क्षेत्रको जग्गा नगरपालिकाका कर्मचारी र पदाधिकारीको मिलेमतोमा निजी ताल निर्माण गर्न स्वीकृति दिएको अभियोगपत्रमा उल्लेख छ ।
बागमती माछापोखरी प्रथम (भरत ताल ) अन्तर्गत ३५.२० हेक्टर, निर्माणाधीन दोस्रो पोखरी बनाउँदा ३२.६० हेक्टर, बागबानी आँप बगैंचा बनाउँदा ६६.७० हेक्टर, ताल वरिपरिको बाटो र अरू भौतिक संरचना बनाउँदा ३८.५० हेक्टर गरी ताल क्षेत्रको कुल १७३ हेक्टर तथा कृषि र बस्ती क्षेत्र लगायतमा करिब ८१५.२० हेक्टर गरी ९८८.२० हेक्टर वनको जग्गा अतिक्रमणमा परेको अभियोगपत्रमा उल्लेख छ ।
गैरकानुनी रूपमा ताल निर्माण गरेको अभियोगमै २०८१ जेठ २९ मा निलम्बित मेयर थापा र उपमेयर मोक्तान सहितलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दा विचाराधीन छ । त्यसको किनारा नलाग्दै जिल्ला वन कार्यालय सर्लाहीले पनि उनीहरुविरुद्ध वन अतिक्रमणको गरी सरकारी जग्गा हिनामिना गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।
अख्तियारले २०८१ जेठ २९ गते थापा, उपप्रमुख मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख चौधरीसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । २०७४ मा निर्वाचित थापाले नगरपालिकाको नगरसभा तथा कार्यपालिकाबाट निर्णय गराएर सागरनाथ वन विकास परियोजनाको वन क्षेत्रको जग्गामा भरत ताल निर्माण गराएका थिए ।