Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

विदेश जान चाहनेका लागि निःशुल्क सीप विकास तालिम दिँदै जानकी गाउँपालिका

User Image डिना डंगोल | २०८२ वैशाख १३ गते १८:१४
Image of storage/news/1745843376.jpg

कैलाली । जानकी गाउँपालिकाले निःशुल्क सीप विकास तालिमको आयोजना गरेको छ । गाउँपालिकाले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आर्थिक सहयोग र एसोसिएट्स नेपाल सिनर्जीको प्राविधिक सहयोगमा वैदेशिक रोजगारीमा जान चाहने युवायुवतीका लागि निःशुल्क सीप विकास तालिमको आयोजना गर्ने भएको हो ।

 

पालिकाले आज (सोमबार) एक सूचना जारी गर्दै तालिमका लागि १८ वर्षदेखि ३५ वर्षसम्मका साधारण लेखपढ गर्न जान्ने, वैदेशिक रोजगारमा जान चाहने युवायुवतिहरु, वैदेशिक रोजगारमा रहेका श्रमिकका परिवार, तथा वैदेशिक रोजगारबाट फर्केका श्रमिकहरुलाई आवेदन फारम भर्न आह्वान गरेको छ ।

 

पालिकाले तालिम लिन चाहनेले सूचना प्रकाशित भएको ७ दिन भित्र गाउँपालिका कार्यलयको रोजगार सेवा केन्द्रमा आवेदन दिनुपर्ने समेत सूचनामा उल्लेख गरेको छ ।

पालिकाले मेसन तालिम र हाउस पेन्टर गरी दुई विद्यामा तालिम दिन लागेको हो । १६१ घण्टाको मेसन तालिम ४० जनालाई र १६१ नै घण्टाको हाउस पेन्टर तालिम २० जनालाई दिने पालिकाले जानकारी दिएको छ ।

 

तालिमका लागि गरिब, विपन्न, दलित, जनजाति महिला, पिछडिएको वर्ग, सहिद परिवार, तथा एकल महिलालाई प्राथमिकता दिने समेत पालिकाले सूचनामा उल्लेख गरेको छ ।
 


Facebook Comments