Ad Image

शिक्षकहरुलाई विद्यालय फर्काउन सर्वाेच्चले दिएको आदेशमा सरकारले पठायो यस्तो जवाफ

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745848500.jpg

काठमाडौं । सर्वाेच्च अदालतले शिक्षकका जायज माग तीन दिनभित्र सम्बोधन गरी पठनपाठनमा फर्काउन गत बिहीबार सरकारको नाममा आदेश दिएको भएपनि त्यसो गर्न सरकार असफल भएको छ । 

 

आन्दोलनबाट शिक्षकलाई फर्काउने वातावरण बनाउन नसकेपछि सरकारले सोमबार जवाफ फर्काएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सर्वोच्चलाई फर्काएको जवाफमा शिक्षकका मागका बारेमा अहिलेसम्म भएको संवाद, शिक्षा विधेयकबारे संसदीय समितिमा चलिरहेको प्रक्रिया, शिक्षकका माग सम्बोधन गर्नेबारे भइरहेको पछिल्लो अवस्था समावेश छन् ।

 

सर्वोच्चले शिक्षकहरूका जायज माग तीन दिनभित्र सम्बोधन गरी पठनपाठनमा फर्काउने वातावरण बनाउन भनेको थियो । ​​​​​​​सर्वोच्चको आदेशपछि शिक्षामन्त्री रघुजी पन्त र शिक्षक प्रतिनिधिहरुबीच शनिबार वार्ता भए पनि बिना निष्कर्ष टुंगिएको थियो । त्यसयता सरकार र आन्दोलनरत शिक्षकहरू बीच संवाद हुन सकेको छैन । शिक्षक फर्किने वातावरण नबनेपछि शिक्षा मन्त्रालयले शिक्षकका माग सम्बोधनका लागि सरकारका तर्फबाट भएको प्रगति विवरणसहित सर्वोच्च अदालतलाई प्रतिवेदन पठाएको हो । 
 

प्रतिवेदन सर्वोच्चमा पुगिसकेकाले अब उक्त पत्र मुद्दा महाशाखाले इजलास समक्ष पेश गर्नेछन् । त्यसपछि सर्वोच्चले थप सुनुवाइ अघि बढाउने छ । नयाँ शिक्षा विधेयकको माग राखेर नेपाल शिक्षक महासंघले २७ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।  शिक्षकहरूले आइतबार बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप भएको थियो । झडपमा परी ६२ जना शिक्षक घाइते भएको महासंघले दाबी गरेको छ ।