नवराज विक हत्या प्रकरण : २३ जनाको जन्मकैद उच्च अदालतबाट सदर, जातिय विभेदमा सफाइ
Mayorsap
मंगल, बैशाख १६, २०८२ | २१:५९ बजे

सुर्खेत । उच्च अदालत सुर्खेतले जाजरकोटका नवराज विकसहित ६ जनाको सामूहिक हत्या भएको सोती घटनामा संलग्न २३ जना प्रतिवादीलाई सुनाइएको जन्मकैदको सजाय सदर गरेको छ । न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले रुकुम पश्चिम जिल्ला अदालतको फैसलालाई अधिकांश रूपमा यथावत् राख्दै जन्मकैदको सजाय कायम राखेको हो ।
जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा जिल्ला अदालतले दिइएको सजाय भने बदर भएको उच्च अदालतका उपरजिस्ट्रार प्रेमप्रकाश थापाले जानकारी दिए । जातीय भेदभाव तथा छुवाछुत कसुरमा जिल्ला अदालतले सुनाएको दुई वर्षको कैद र ५० हजार रूपैयाँ जरिवानाको फैसला उल्टाइएको हो । पीडितले पाउनुपर्ने क्षतिपूर्ति र जन्मकैदको सजाय सदर नै भएकाले फैसलामा आंशिक उल्टी मात्र भएको हो ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ स्थित सोती गाउँमा २०७७ जेठ १० गते नवराज विकसहित ६ जनाको ज्यान लिएको घटनामा संलग्न ठहर २३ जना दोषीलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । जन्मकैदको अवधि २५ वर्ष हुने व्यवस्था छ ।
उनीहरूमध्ये डम्बरबहादुर मल्ल (तत्कालीन वडा अध्यक्ष), नेत्रबहादुर मल्ल, रेशम मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इर्दबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल र विष्णु मल्लसहित नवराजकी प्रेमिकाका बुबा र दाजु (नाम गोप्य राखिएको) छन् ।
उनीहरुलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो। उनीहरूको जन्मकैदको फैसला उच्च अदालत सुर्खेतले सदर गरेको हो । जन्मकैदको सजाय पाएका ठकुरी समुदायका १७ जनालाई जातीय विभेदको कसुरमा थप दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको थियो । उनीहरूले जातिय छुवाछुत कसुरमा भने सफाइ पाएका छन् ।
नवराजकी प्रेमिका र उनकी आमालाई पनि जातीय विभेदमा दुई वर्ष कैद सुनाइएको थियो । तर प्रेमिका नाबालिग भएकाले एक वर्ष चार महिना मात्र कैद बसे पुग्ने जिल्ला अदालतको फैसलामा उल्लेख थियो । तर उच्च अदालतले जातीय विभेद कसुरको सजाय उल्टाएसँगै उनीहरूको सजाय बदर हुने उपरजिस्ट्रार थापाले बताए।