Ad Image

शिक्षामन्त्री र शिक्षकहरूबीच आज दिउँसो वार्ता हुँदै

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745991984.PNG

काठमाडौँ । शिक्षामन्त्री र शिक्षकहरूबीच दिउँसो वार्ता हुँदैछ। दिउसो २ बजे शिक्षा मन्त्रालयमा वार्ता हुन लागेको हो । हिजो रातिसम्म चलेको वार्तामा सकारात्मक रहेको थियो ।


उक्त वार्तालाई अन्तिम रूप दिन आज दिउँसो वार्तामा बस्न लागेको नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाले जानकारी दिए । हिजोको वार्ता सकारात्मक भएको र आज दिउँसो पुनः छलफल गरिने उनको भनाइ छ ।
 

त्यसका लागि महासंघले ९ बुँदे प्रस्ताव पेस गरेको थियो । ती मागहरू नेपाल सरकारले मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्नुपर्ने छ ।


ती मागहरूमा सबै शिक्षक कर्मचारीको स्वास्थ्य उपचारका लागि सातवटै प्रादेशिक अस्पताल र काठमाडौँस्थित निजामती अस्पतालमा सहुलियत र सुविधाको व्यवस्था गर्ने, राहत, अस्थायी र करार, साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार र विशेष शिक्षा, बालविकास सहजकर्ता लगायत सबै अस्थायी प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित हुने र त्यो बापतको रकम अवकाशको बखत एकमुष्ट प्रदान गर्ने रहेको छ ।


त्यस्तै प्रारम्भिक बाल विकास सहजकर्ता (बालविकास शिक्षक) र विद्यालय कर्मचारीको लागि खरिदार सरह दरबन्दी कायम गर्ने सो पदबमोजिम (प्रति महिना ३२,९०२) तलब उपलब्ध गराउने । त्यसैगरी विद्यालय सहयोगीको हकमा श्रेणीविहीन कर्मचारी सरह प्रति महिना रकम रु. २६,०८२ उपलब्ध गराउने र सो रकम सङ्घीय सरकारले व्यहोर्ने व्यवस्था गर्नुपर्ने महासंघको प्रस्ताव छ।


त्यस्तै आर्थिक वर्ष २०८२–८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीयका लागि खरदार सरह (१० ग्रेड), प्राथमिक द्वितीय र निम्न माध्यमिक तृतीयको नायब सुब्बासरह (१० ग्रेड) र माध्यमिक प्रथमको सहसचिव सरह (७ ग्रेड) ग्रेड सङ्ख्या कायम गर्नुपर्ने लगायतका माग छन् ।


विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू गत चैत २० गतदेखि आन्दोलन गर्दै आएका छन् । उनीहरूले चैत २५ गतेदेखि शैक्षिक हडताल समेत गरेका छन् ।
 

सरकारसँग सहमति भएमा आन्दोलनको स्वरूप परिवर्तन गर्ने महासंघले जनाएको छ । कक्षा १२ को परीक्षा संचालन गर्न दिनेगरी आन्दोलनको स्वरूप परिवर्तन गर्ने जनाएका छन् ।