सरकार र शिक्षकबीचको सहमतिमा विद्यालय कर्मचारी परिषदको आपत्ति


काठमाडौं । बुधबार नेपाल सरकार र शिक्षक महासंघबीच भएको सहमतिमा नेपाल विद्यालय कर्मचारी परिषदले आपत्ति जनाएको छ । नेपाल विद्यालय कर्मचारी परिषद्ले विज्ञप्ति नै निकालेर सहमतिको विरोध जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको पूर्णरूपमा असहमति रहेको व्यहोरा सबैमा जानकारी गराउँदै नेपाल विद्यालय कर्मचारी परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको घोर भत्सर्ना गर्दछौँ ।’
परिषद्ले थप कार्यक्रम समीक्षा बैठक पश्चात् सार्वजनिक गर्ने जनाएको छ ।
नेपाल शिक्षक महासंघको आह्वानमा गत चैत २० गतेदेखि शिक्षकहरु आन्दोलनमा थिए । बुधबार सरकारसँग ९ बुँदे सहमति भएसँगै महासंघले आन्दोलन स्थगित भएको घोषणा गरेको छ ।
