प्रधानमन्त्री ओलीद्वारा कोशी लगानी सम्मेलनको उद्घाटन

मोरङ । कोशी प्रदेश सरकारले प्रदेश राजधानी विराटनगरमा आयोजना गरेको कोशी लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । ‘लगानी गर्न समयानुकूल वातावरण छ ’ भन्ने सन्देश दिने ध्येयले कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को प्रधानमन्त्रीले आज उद्घाटन गरेका हुन् ।
सम्मेलनमार्फत बन्ने लगानीको वातावरणले कोशीको आर्थिक पुनरोत्थान मात्र नभई समग्र नेपालको समृद्धिको आधार तयार हुने विश्वास लिइएको छ । सम्मेलनमा प्रदेश सरकारले रु एक खर्ब ७३ अर्ब ४९ करोड बराबरका ७१ वटा परियोजनाहरू सोकेसिङ गरिएको छ। जसमा कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, सूचना प्रविधिलगायत क्षेत्रहरू छन् । लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा सरोज कोइरालाले लगानी सम्मेलनकै क्रममा दुई दर्जनभन्दा बढी परियोजनामा सम्झौता हुने जानकारी दिएका छन् ।
सम्मेलनमा कृषि र पर्यटनमा कोशी प्रदेशको सम्भावना, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास र ऊर्जा, स्वास्थ्य सेवा र मेडिकल शिक्षामा लगानीका अवसर र सम्भावनाका विषयमा छलफल हुनेछ । साथै, पहिलो दिनको मुख्यसत्रमा कोशी प्रदेशका हकमा लगानीमैत्री वातावरण र तीन तहका सरकारहरू बीचको अन्तरसम्बन्धका विषयमा विज्ञहरू र जनप्रतिनिधिहरूबाट धारणा प्रस्तुत हुने आयोजकले जनाएको छ ।