भारत र चीनबाट हिन्दू र बौद्धधर्मावलम्बीलाई ल्याउनसके आर्थिक रुपमा बलियो हुन्छ : मुख्यमन्त्री सिंह


मोरङ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मुलुकमा उद्योग र पर्यटन क्षेत्रको विकास गरी युवायुवतीलाई विदेश पलायनबाट रोक्नुपर्ने बताएका छन् । कोशी प्रदेश सरकारद्वारा आयोजित दुई दिने प्रदेश लगानीको आज विराटनगरको सभागृहमा उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले उद्योग र पर्यटनका क्षेत्रमा लगानी वृद्धि गरेमा मात्र युवा पलायन रोक्न सकिने बताए । उनले छिमेकी मुलुक भारत र चीनबाट हिन्दू र बौद्धधर्मावलम्बीलाई नेपालमा घुमाउन सके देश आर्थिक रुपमा बलियो हुने बताए ।
सङ्घीय सरकारले आवश्यक नीति बनाइ भारतीय पर्यटकलाई नेपालमा आकर्षित गर्नुपर्ने मुख्यमन्त्री सिंहले सुझाव दिए । उनले अहिले मुलुकभरि लगानीको वातावरण बनिरहेको र यसबाट राष्ट्रले राम्रो प्रतिफल प्राप्त गर्नसक्ने बताए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय संरचनामा देश गए पनि कतिपय कानुन पुराना भएका कारण समस्या भइरहेको बताए । उनले सङ्घीय संरचनालाई बलियो बनाउन कानुनी र संरचनामा देखिएको जटिलता फुकाउन आवश्यक रहेको बताए । “मुलुकका सबै प्रदेश प्राकृतिक स्रोत साधनले धनी छन् । कर्णालीको साधन स्रोतको उपयोग गर्न सके देशको समृद्धिमा सहयोग पुग्छ”, मुख्यमन्त्री कँडेलले भने ।