Ad Image

केआईआईटीमा फेरि एक नेपाली विद्यार्थी मृत फेला, छानबिन गर्न परराष्ट्रले थाल्यो कूटनीतिक पहल

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746152578.PNG

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा फेरि एक नेपाली विद्यार्थी मृत फेला परेपछि परराष्ट्र मन्त्रालयले छानबिनका लागि कूटनीतिक पहल थालेको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले केआईआईटीमा फेरि अर्की नेपाली विद्यार्थी मृत फेला परेको घटनाले मर्माहत भएको बताएकी छन् ।

 

परराष्ट्र मन्त्रालयले भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको समेत मन्त्री देउवाले जानकारी दिएकी छन् ।

 

त्यसैगरी भारतको विद्यार्थी सङ्गठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले केआईआईटीमा नेपाली विद्यार्थी मृत फेला परेपछि दोषीलाई कार्बाही गर्न माग गरेको छ । एबीभीपीले विज्ञप्ति जारी गर्दै केआईआईटीमा पुनः नेपाली विद्यार्थीले आत्महत्या गर्न बाध्य हुनु लज्जास्पद भएको बताएको छ । एकै प्रकृतिको घटना बारम्बार हुँदा पनि राज्य सरकार मौन रहेको भन्दै एबीभीपीले केआईआईटीविरूद्ध तत्काल कडा कार्बाही गर्न माग गरेको हो।

 

बिहीबार साँझ वीरगञ्ज घर भएकी प्रिशा साह होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। प्रिशाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

 

यसअघि गत ४ फागुनमा नेपाली विद्यार्थी प्रकृति लम्सालको पनि सोही विश्वविद्यालयमा शव भेटिएको थियो । आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, कलेजले गम्भीरतापूर्वक नलिँदा उनले मृत्युको बाटो रोजेकी थिइन् ।