Ad Image

२ करोड बढी बचत अपचलन गरेको आरोपमा सहकारीका पूर्वअध्यक्ष पक्राउ

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746340355.jpg

झापा । सहकारी संस्थामा बचत अपचलन गरेको आरोपमा विर्तामोडस्थित पातालग्गा बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष रेवती खनाल पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक बिजय श्रेष्ठले खनाललाई धनगढीबाट पक्राउ गरेर झापा ल्याइएको जानकारी दिए । खनाललाई जिल्ला अदालत झापामा उपस्थित गराइन लागेको छ । 

 

खनालले विसं २०७८ भदौ २३ गते आफू, पत्नी, भाइ, बहिनी र मामाससुराका नाममा २ करोड ६ लाख ८ हजार ३८३ ऋण निकालेर फरार भएका थिए । विसं २०७८ कात्तिक १६ गते संस्थाका उपाध्यक्ष ट्कप्रसाद भेटवालले खनालविरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दिएका थिए ।      

 

पातालग्गा सहकारीमा एक हजार ५०० भन्दा बढी सदस्य छन् । सदस्यको बचत हिनामिना गरेर खनाल फरार भएपछि त्यसपछि अध्यक्ष चयन हुनुभएका युवराज गिरीले निजी घरजग्गा बैंकमा धितो राखेर निकालेको पैसाले बचतकर्ताको रकम फिर्ता भइरहेको बताए ।

 

झापा जिल्ला अदालतबाट विसं २०७९ मंसिर १४ गते उक्त मुद्धाका पाँच जना आरोपीका नाममा हाजिर हुन आउने म्याद जारी भएको थियो । खनालकी बहिनी विर्तामोड नगरपालिका–२ निवासी गोमा खनाल भण्डारी र मामाससुरा भद्रपुर नगरपालिका–८ निवासी अनन्तजीवन लुइँटेल पक्राउ परेका थिए ।

 

अदालतको आदेश बमोजिम १ लाख ५० हजार धरौटीमा गोमा खनाल भण्डारी र ७५ हजार धरौटीमा अनन्तजीवन लुइँटेल तारेखमा छुटेका थिए । अहिले खनालकी पत्नी कमलादेवी भट्टराई र भाइ सीताराम खनालको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

झापामा सहकारीको बचत अपचलन गरेको अभियोगमा पक्राउ परेका अन्य सहकारीका सञ्चालक तथा कर्मचारीविरुद्ध पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । विर्तामोडमा प्रधान कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको शिवगञ्जस्थित सेवा केन्द्रका प्रमुख जीवन भुजेललाई ३ करोड ३५ लाख ४०० हिनामिना गरेको अभियोगमा गत चैतमा प्रहरीले पक्राउ गरेको थियो । भुजेलविरुद्ध सम्बन्धित सहकारीले नै प्रहरीमा जाहेरी दिएको थियो ।

 

यसैगरी, शिवसताक्षी नगरपालिका–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन खनाल र व्यवस्थापक मित्रलाल भट्टराई सहकारीको बचत अपचलन गरेको अभियोगमा गत कात्तिकमा पक्राउ परेका थिए । अध्यक्ष खनाल र व्यवस्थापक भट्टराईले मिलेमतोमा सहकारीमा सर्वसाधारणले राखेको बचत रु एक करोड ३९ लाख ७७० हिनामिना गरेको भनी प्रहरीमा जाहेरी परेको थियो । हाल यो मुद्धा झापा जिल्ला अदालतमा विचाराधीन रहेको छ ।