हवाई हमलापछि भारत–पाकिस्तानको सीमा क्षेत्रमा गोली हानाहान, विभिन्न स्थानमा विद्यालय बन्द


काठमाडौं । भारतको आक्रमणपछि पाकिस्तानले राजधानी इस्लामावाद, पन्जाब र कश्मीर लगायतका क्षेत्रमा विद्यालय बन्द गरेको छ । पञ्जाब प्रदेशकी मुख्यमन्त्री मरियम नवाज शरीफले जनसुरक्षाको दृष्टिले प्रान्तभरका शिक्षण संस्था बन्द गरिने घोषणा गरेकी छन्।
तर अन्तर्राष्ट्रिय परीक्षा बोर्डहरूद्वारा सञ्चालन हुने परीक्षाहरू भने यथावत् रहने छन् । यस्तै कश्मीरका कतिपय स्थानमा पनि विद्यालय र क्याम्पस बन्द भएका छन् । कश्मीरमा जम्मू, साम्बा, कठुवा, राजौरी र पुंछ क्षेत्रमा शैक्षिक गतिविधि ठप्प भएका हुन् । पहलगाम आक्रमणको १५ दिनपछि भारत सरकारले पाकिस्तानमा हवाई हमला गरेपछि स्थिति तनावग्रस्त बनेको छ ।
भारतले ‘अपरेशन सिन्दूर’ नाम दिएको यो हमलामा बालबालिकासहित दुवै देशका नागरिकहरू मारिएको खबर आउन थालेको छ । बुधवार बिहानदेखि दुवै पक्षले सीमामा गोलीबारी गरेका छन् । पाकिस्तान प्रशासित कश्मीरमा रहेका सीएनएन पत्रकारले धेरै ठूला विस्फोटहरू सुनेको समाचारमा जनाइएको छ ।
भारत प्रशासित कश्मीरको सबैभन्दा ठूलो शहर श्रीनगरका प्रत्यक्षदर्शीहरूले शहरमा विस्फोट भएको बताएका छन् । भारत र पाकिस्तानबीचको सम्बन्ध २२ अप्रिलमा जम्मु–कश्मिरको पहलगाममा पर्यटकहरूमाथि भएको हमलापछि तनावपूर्ण भएको छ । सो हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो ।