तीनकुनेमा रातो बत्तीमा रोकिएको भ्यान र मोटरसाइकललाई बसले ठक्कर दिँदा एक जनाको मृत्यु


काठमाडौं । काठमाडौँको तीनकुनेमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । बिहान करिब साढे ६ बजे तिनकुनेस्थित मुनिभैरब मन्दिर अगाडि बसले मारुती भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार नुवाकोट घर भई हाल ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी तामाङको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक रामेछाप दोलम्बा गाउँपालिका– ३ घरभइ काठमाडौँको नयाँबजार बस्ने २७ वर्षीय पदम थापा मगर घाइते भएका छन्। उनको पनि ट्रमा सेन्टरमै उपचार भइरहेको छ।
बसको ठक्करबाट भ्यानका चालक काभ्रेको मण्डनदेवपुर नगरपालिका– १ घर भइ हाल काठमाडौँ महानगरपालिका– ३१ शान्तिनगर बस्ने वर्ष ३५ का रत्नबहादुर सार्की र बसकी यात्रु दोलखाको गौरीशंकर गाउँपालिकाकी २४ वर्षीया मेनुका बुढाथोकी पनि घाइते भएका छन्।
थापा, सार्की र बुढाथोकी सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। सडकमा रातो बत्ती बलेको बेला रोकिएको भ्यान र मोटरसाइकललाई पछाडिबाट बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । कोटेश्वरबाट बानेश्वरतर्फ आउँदै गरेको बा३ख ७०६२ नम्बर बसले रोकिराखेका बा प्र ०१–०२६ च २९२७ नम्बरको भ्यान र बा.प्र. ०२–०५३ प ३८२७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिदाँ दुर्घटना भएको हो ।
दुर्घटनापछि प्रहरीले बस चालक इलामको सूर्योदय नगरपालिका– ५ घर भइ काठमाडौँको काँडाघारी बस्ने ५९ वर्षीय राम कुमार खड्कालाई नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ।