मेयरसाप

स्थानीय तह

केपी ओली

राजस्व

निर्माण

स्वास्थ्य क्लिनिक

संस्कृति

गोलबजार नगरपालिका

जलजला गाउँपालिका

उपहार

परोहा नगरपालिका

छेडागाड नगरपालिका

बालाजु पौडी पोखरी पुनः निर्माण सम्पन्न, इनडोर सुविधासहित स्तरीय व्यवस्थापनको तयारी

Mayorsap

शुक्र, बैशाख २६, २०८२ | १२:३५ बजे

काठमाडौं । काठमाडौंको ऐतिहासिक बालाजु बाइसधारा क्षेत्रमा रहेको पौडी पोखरीको पुनः निर्माण सम्पन्न भएको छ । पुनः निर्माण सम्पन्न भएसँगै पोखरीको सुरक्षित र व्यवस्थित सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले इनडोर पौडी पोखरी बनाउने र गुरुयोजना अनुसार सम्पूर्ण संरचनालाई व्यवस्थापन गर्ने तयारी गरेको छ ।

 

२०७२ सालको विनाशकारी भूकम्पले पोखरीको संरचना क्षतिग्रस्त बनेपछि पानी चुहिने समस्या देखिएको थियो । त्यसपछि पोखरीको पुनः निर्माण कार्य सुरु गरिएको थियो । ७ करोड ८५ लाख रुपैयाँ अनुमान गरिएको लागतमा पशुपतिनाथ कन्स्ट्रक्सनले ७ करोड ४३ लाख ३१ हजार रुपैयाँमा निर्माण सम्पन्न गरेको हो । निर्माण कार्य २०७९ असोज ५ गते सुरु भई २०८० चैत १९ गते सम्पन्न भएको हो ।

पुनः निर्माण गरिएको पोखरी ५० मिटर लम्बाइ, १८ मिटर चौडाइ र ३ देखि १० फिटसम्म गहिराइको छ । कुल १८ लाख लिटर पानी अट्ने क्षमतायुक्त यस पोखरीमा स्वचालित पिएच र क्लोरिन सन्तुलन प्रणाली जडान गरिएको छ । दर्शकका लागि १५० जनासम्म अट्ने बस्ने ठाउँ, शुद्धीकरण प्लान्ट, लकर सुविधा, नयाँ शौचालय तथा स्नानगृह, काँडे तार सुरक्षा, र प्रवेश व्यवस्थापनसहित अत्याधुनिक पूर्वाधार तयार गरिएको छ ।

 

सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीका अनुसार बालाजु उद्यानको गुरुयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। उनले दिएको जानकारीका आधारमा वडा नम्बर १६ की अध्यक्ष रोजिना श्रेष्ठले स्थानीयबासीहरू अब गुरुयोजना कार्यान्वयनको अपेक्षामा रहेको बताइन् ।

पोखरीको व्यावसायिक सञ्चालनलाई सहज बनाउन दोस्रो चरणमा इनडोर पोखरी निर्माण, पोखरी छेउमै नयाँ गेट खोल्ने, बाँदर नियन्त्रण गर्न फाइबर फेन्सिङ, बालबालिकाका लागि छुट्टै पोखरी, डराइ फाउन्टेन र ओभर हेड पानी ट्याङ्की निर्माणका योजना छन् ।

 

महानगरपालिकाले पोखरी सञ्चालन गर्न नेपाल पौडी संघसँग सम्झौता गरेको छ । सम्झौता अनुसार संघले वरिष्ठ जीवन रक्षकसहित ५ जनाको जनशक्ति उपलब्ध गराउनेछ। ती कर्मचारी सेवा सुरु हुनु १० मिनेट अघिदेखि उपस्थित हुनुपर्नेछ भने कार्य समाप्तिपछि प्रतिवेदन बुझाएर फर्कनुपर्नेछ ।

 

पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर मात्र सञ्चालनमा ल्याउनुपर्ने र इनडोर पोखरी निर्माण गर्नुपर्ने निर्देशन दिँदै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले बालाजु पोखरीको व्यवस्थापन उद्यानको गुरुयोजना अनुसार गर्नुपर्ने धारणा राखेकी छन् ।

नागार्जुन डाँडाको फेदीमा रहेको बालाजु बाइसधारा क्षेत्र हिन्दू र बौद्ध धर्मावलम्बीका लागि समान रूपमा पवित्र तीर्थस्थल मानिन्छ । ल्हुतिपुन्हिको दिन यहाँ स्नान गर्दा पापहरू पखालिन्छन् भन्ने जनविश्वास छ । क्षेत्रभित्र मन्नादी देवी, शितलामाई, बुद्ध, गणेश, रत्नचुडेश्वर महादेवका मन्दिरहरू तथा बालनीलकण्ठको प्रतिरूप समेत अवस्थित छन् ।

वि.सं. २०१८ मा राजा महेन्द्रको पालामा विकसित बालाजु बाइसधारा उद्यान १५८ रोपनीमा फैलिएको छ । यस क्षेत्रको ऐतिहासिक, धार्मिक र पर्यावरणीय महत्वका कारण यसलाई एक प्रमुख गन्तव्यको रूपमा विकास गर्ने महानगरको योजना रहेको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology