दिल्लीको घातक प्रदूषणसँग जुध्न भारतद्वारा ’क्लाउड सिडिङ’ परीक्षण
मेयरसाप डेस्क
|
८ घण्टा अगाडि
नयाँदिल्ली । विश्वकै सबैभन्दा प्रदूषित राजधानीमध्ये एक मानिने नयाँदिल्लीले वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले बिहीबार पहिलो पटक ’क्लाउड सिडिङ’ (बादलमा बीउ रोप्ने) प्रविधिको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ ।
यस अभियानको लक्ष्य वर्षा उत्प्रेरित गरी वायुमण्डलमा रहेको हानिकारक धुवाँ र प्रदूषक कणहरूलाई हटाउनु रहेको छ ।
दिल्लीका अधिकारीहरूले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी कानपुरसँगको सहकार्यमा सहरको उत्तरी क्षेत्र बुराडीमा सेस्ना हल्का विमान प्रयोग गरी परीक्षण सुरु गरेका थिए । मन्त्री मञ्जिन्दर सिंह सिरसाका अनुसार, उडानमा फ्लेयर्स (रासायनिक कण) प्रयोग गरी बादलमा फायर गरिएको थियो ।
दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले मौसम अनुकूल रहेमा अक्टोबर २९ मा सहरले पहिलो कृत्रिम वर्षा अनुभव गर्ने बताए । उनले यो परियोजनालाई ’दिल्लीवासीका लागि स्वच्छ हावा फिर्ता ल्याउने महत्त्वपूर्ण कदम’ भएको बताए ।
प्रदूषणको भयावहता
तीन करोडभन्दा बढी जनसङ्ख्या भएको नयाँदिल्लीमा प्रत्येक जाडोमा बाक्लो धुवाँले ढाकिन्छ । रगतमा प्रवेश गर्न सक्ने घातक एः २.५ नामक सूक्ष्म कण कहिलेकाहीँ विश्व स्वास्थ्य सङ्गठनको दैनिक स्वास्थ्य सीमाभन्दा ६० गुणासम्म बढी पुग्ने गरेको छ ।
दीपावलीपछि यस हप्ता प्रदूषण झनै बढेर एः २.५ को मात्रा सीमाभन्दा ५६ गुणा बढी पुगेको निगरानी संस्था ’आइक्युएयर’ले जनाएको छ ।
सन् १९४० को दशकमा विकसित भएको यो प्रविधि विश्वका धेरै देशले प्रयोग गर्दै आएका छन् । चीनले २००८ को ओलम्पिकमा वर्षा रोक्न प्रयोग गरेको थियो ।
यद्यपि, वैज्ञानिकहरूबीच यस प्रविधिको प्रभावकारिता र अप्रत्याशित असरबारे अझै पनि मतभेद रहेको छ ।
Facebook Comments