‘सरकारकै हातबाट मानव अधिकारको उल्लङ्घन’

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेलले सरकार र सरकारी निकायकै कमजोरीले मानव अधिकार उल्लङ्घन भइरहेको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित “व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्य योजना” विषयक कार्यशालामा बोल्दै उनले प्रहरीजस्ता निकायको कार्यशैलीसँगै सरकारी निकायले नगरेका कामले पनि ठूलो मानव अधिकार उल्लङ्घन हुने गरेको बताए ।
उनले कार्य योजनामा सबै मन्त्रालयको समावेशिता नहुँदा प्रभावकारिता घटेको उल्लेख गर्दै कार्यान्वयनमा सबैको जिम्मेवारी आवश्यक रहेको धारणा राखे ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्द कार्कीले पनि समन्वयको कमीले योजना अपूर्ण भएको बताए । सरकारले योजना बनाउने तर कार्यान्वयन नगर्ने परिपाटी तोड्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा उपभोक्ता अधिकारकर्मीहरू ज्योति बानिया र विष्णु तिमिल्सिनाले उपभोक्ता अधिकारको उल्लङ्घनलाई मानव अधिकारको उल्लङ्घनसरह मान्नुपर्ने बताएका थिए ।
उपभोक्ता हित संरक्षण मञ्चको आयोजनामा भएको गोष्ठीमा वाणिज्य मन्त्रालय, राष्ट्रिय योजना आयोग, उपभोक्ता अधिकारकर्मी र व्यवसायीहरूको सहभागिता थियो ।