बहराइनलाई ९ विकेटले पराजित गर्दै नेपालको शानदार जित


काठमाडौं । नेपालले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै बहराइनलाई ९ विकेटले हराएको छ । थाइल्याण्डको तेरथाइ मैदानमा वर्षाका कारण ५ ओभरमा झारिएको खेलमा नेपालले सजिलो जित हात पारेको हो ।
बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमै १ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कविता कुँवरले आक्रामक १८ रन बनाइन् भने सम्झना खड्का १३ रनमा र कप्तान इन्दु बर्मा ७ रनमा अविजित रहिन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ५ ओभरमा १ विकेट गुमाएर ४१ रन बनाएको थियो । कप्तान दिपिका रंगासिकाले मात्र १३ बलमा आक्रामक ३४ रन जोडिन् । उनी श्रीलंकाबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेकी अनुभवी खेलाडी हुन् ।
नेपालले यसअघि शुक्रबार हङकङसँग खेल्ने कार्यक्रम तय भए पनि वर्षा र खराब मैदानका कारण खेल रद्द भएको थियो । अब नेपाल मंगलबार पुनः हङकङविरुद्ध मैदानमा उत्रनेछ ।