बर्दिया सीमा क्षेत्रमा सुरक्षा कडाइ, २० नाकामा निगरानी बढाइयो


बर्दिया । नेपाल–भारत सिमानामा सुरक्षा सतर्कता तीव्र पारिएको छ । ८३ किलोमिटर खुला सीमामा पर्ने बर्दियाका २० नाकामा दुवै देशका सुरक्षाकर्मीले निगरानी कडा गरेका छन् ।
गणेशपुर–लौकाही नाकालाई उच्च जोखिम क्षेत्र मानी सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय एसएसबीले संयुक्त गस्ती गरिरहेका छन् । यात्रुहरूलाई परिचयपत्र देखाउन अनिवार्य गरिएको छ भने आउजाउको विवरण पनि अभिलेख गर्न थालिएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार सीमाबाट अवाञ्छित गतिविधि रोक्न सतर्कता अपनाइएको हो । कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलापछि भारत–पाकिस्तानबीच तनाव चुलिएसँगै नेपाल–भारत सीमामा पनि सुरक्षा कडाइ गरिएको हो ।
यसैबिच, भारतीय बजार लौकाही र बलैगाउँ जाने नेपालीको सङ्ख्यामा पनि उल्लेख्य गिरावट आएको स्थानीयको भनाइ छ ।