Ad Image

बागलुङका पाँच वटा पालिका ‘पूर्णखोप सुनिश्चित’ भएको घोषणा, कुन कुन हुन्?

User Image Mayorsap | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/baglung palika.PNG

बागलुङ । बागलुङका पाँच स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन भएका पालिका घोषणा गरिएको छ । जिल्लाको बागलुङ, गलकोट, ढोरपाटन र जैमिनी नगरपालिका तथा ताराखोला गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन भएका पालिका घोषणा गरिएको हो । 

बागलुङ नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका ६ सय ६३ जना बालबालिकाले नियमित खोप लगाइरहेका र १६ देखि २४ महिना उमेर समूहका चार सय ४९ जनालाई खोप दिएपछि पूर्णखोप सुनिश्चित नगर बनेको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए । नगरपालिकाका १४ वटै वडाका स्वास्थ्य संस्थामा खोपको सुविधा उपलब्ध गराएको उनले जानकारी दिए । 

गलकोट नगरपालिकामा जन्मेदेखि १५ महिनाका चार सय २७ जना बालबालिका र १६ देखि २३ महिनाका तीन सय २७ बालबालिकालाई खोप दिएपछि नगरलाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख सुशिल पौडेलले जानकारी दिए । पालिकामा १४ वटा स्वास्थ्य संस्था रहेको जनाउँदै उनले सबै संस्थाबाट खोप दिने व्यवस्था मिलाएको बताए । 

ढोरपाटन नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका छ सय आठ बालबालिका र १६ देखि २३ महिना उमेर समूहका चार सय ५४ जना बालबालिकालाई खोप दिएपछि नगरलाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य संयोजक भुमिश्वर शर्माले बताए। गत माघ १ गतेदेखि खोजपड्ताल कार्यक्रम सुरु गरिएको भन्दै गत चैत्र र गत वैशाखमा नौ वटै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गरेसँगै अहिले पालिकालाई घोषणा गरिएको उनले उल्लेख गरे । 

जैमिनी नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका तीन सय १३ र १६ देखि २३ महिना उमेर समूहका दुई सय २६ बालबालिकालाई खोप दिएपछि नगरलाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य संयोजक गोविन्दप्रसाद शर्माले जानकारी दिए ।

जिल्लाको ताराखोला गाउँपालिकामा १५ महिना उमेर समूहका एक सय २३ जनाले नियमित खोप लगाइरहेका र १६ देखि २३ महिना उमेर समूहका ७० जनालाई खोप दिएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख उदित थापाले जानकारी दिए। पलिकामा छ वटा स्वास्थ्य संस्था रहेका भन्दै ती सबैबाट खोप सेवा दिने व्यवस्था मिलाइएको उनको भनाइ छ । 

निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका, काठेखोला गाउँपालिका, बडिगाड र बरेङ गाउँपालिका पूर्णखोप घोषणा हुन बाँकी छन् । यी पाँच पालिका घोषणा भएपछि बागलुङलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन भएको जिल्ला घोषणा गरिने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले बताए । यही जेठ २५ गतेसम्म सबै पालिकामा खोप अभियान सम्पन गरी पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिने उनको भनाइ छ ।