दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईंसहित ५३ जनालाई अनुसन्धानको लागि थप दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । गत चैत १५ गतेको तीनकुने घटनामा पक्राउ परेका मुख्य आरोपी प्रसाईंसहित ५३ जनालाई अदालतले थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
प्रहरीले प्रसाईंसहित २६ जनामाथि आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । उक्त घटनामा पक्राउ परेका २७ जनामाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले केही दिनमै अनुसन्धान पूरा गरेर सरकारी वकिल कार्यालय काठमाडौंलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ। प्रहरीले प्रतिवेदन बुझाएसँगै सरकारी वकिलले अभियोजन गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्नेछन्।
तीनकुने घटना प्रकरणमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री एवं सांसद धवलशम्शेर राणासहित ३७ जना हाजिर जमानीमा छन्।
गत चैत १५ गते तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि दुई जनाको ज्यान गएको थियो । आगजनी, तोडफोड र लुटपाटबाट करोडौंको क्षति भएको थियो ।