Ad Image

कर्मचारीले काम गरेनन्, आचारण नसुधारे पद घटुवा गर्न मुख्यमन्त्री सिंहको निर्देशन

User Image Mayorsap | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Satish-Singh.jpeg

धनुषा । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेशका कर्मचारीमा काम गर्ने मनसाय कम देखिएको बताएका छन् । अर्थ मन्त्रालयको आयोजनामा आज जनकपुरधाममा राखिएको विनियोजन विधेयक २०८२ का लागि मस्यौदाको सुझाव संकलन कार्यक्रममा मुख्यमन्त्री सिंहले पछिल्लो समयमा प्रदेशका हरेक मन्त्रालयमा कार्यरत कर्मचारी काम गर्ने मनसायमा कमै देखिएको बताए । 

कर्मचारीको ढिलासुस्तीले प्रदेश सरकारको कामकारबाहीमा प्रश्न उठिरहेकाले यो आचरणलाई तत्काल सुधार गर्न उनले निर्देशनसमेत दिए । कार्यक्रममा सहभागी सचिवलाई मुख्यमन्त्री सिंहले भने, “यो प्रवृत्तिले प्रदेश सरकारको कार्यक्षमता माथि नै प्रश्न उठ्छ, त्यसकारण यसलाई तपाईंहरू सुधार गर्नुस् । उत्कृष्ट काम गर्ने कर्मचारीलाई मनोबल बढाउन पुरस्कार र लापरबाही गर्ने कर्मचारीको घटुवा हुने व्यवस्था गर्नुस्, तबमात्रै यो समस्या समाधान हुन्छ ।”

कार्यक्रममा सहभागी अर्थमन्त्री सुनील यादवले कार्यविधिले बजेट खर्च हुन नसकेको बताए । रकमान्तर, आयोजना तथा कार्यक्रमको संशोधन, एकमुष्ट विनियोजित बजेटको बाँडफाँट, नयाँ योजना तथा कार्यक्रम, बजेट निर्माण, कार्यविधि निर्माण गर्ने अधिकार, विगतको बक्यौता रकमसहितका १० वटा एजेन्डामाथि छलफल भएको थियो । सङ्घीय नीतिलाई मध्यनजर गरेर जान सचिवहरूको सुझाव थियो ।