Ad Image

बाढीजन्य विपद् आगामी दिनमा नआउने गरी पूर्वतयारी थाल्नुपर्छ: उपप्रमुख डङ्गोल

User Image Mayorsap | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sunita-dongol.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले गत असोजको वर्षाले सिर्जना गरेको बाढीजन्य विपद् आगामी दिनमा नआउने गरी पूर्वतयारी गर्नुपर्ने बताएकी छिन् । 

आज विश्व बैंकका प्रतिनिधिहरूसँगको बैठकमा उनले पूर्वतयारीका लागि आवश्यक काम तत्काल सुरुआत गर्नुपर्नेमा जोड दिँदै तथ्य सङ्कलन र बाढी, पहिरोको प्रमुख कारण पत्ता लगाएर मध्यकालीन र दीर्घकालीन योजनाका तर्जुमा गर्नुपर्ने बताइन् । सरोकार भएका र साझेदारी निकायसँग समन्वय र सहकार्य गरी विगतमा भएका गल्ती सच्याउँदै जानुपर्ने उनको भनाइ छ ।

“काठमाडौँका नदीमा यो तहसम्म पानीको बहाव देखेको थिएन र यस्तो समस्या भोग्नुपरेको पनि थिएन । उक्त दुःखद क्षणलाई सिकाइ मानौँ । आगामी दिनमा काठमाडौँले यस खालका विपद् भोग्नु नपरोस् भनेर पूर्वतयारी थालौँ”, उनले भने । 

सहरी विकासका विषय चुनौतीपूर्ण भए पनि सबै मिलेर समाधानका उपाय खोज्नुपर्ने उपप्रमुख डङ्गोलले उल्लेख गरे । आगामी दिनमा बाढीजन्य विपद्बाट हुने क्षति न्यूनीकरणका लागि कामपाले नदी सुधार गुरुयोजना तयार पारिरहेको उनले जानकारी दिए ।

सहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारीले भने, “बाढी व्यवस्थापन गर्न विश्वका सहरले गरेको प्रयत्न काठमाडौँका लागि सिकाइ नहुन सक्छ । काठमाडौँको भूगोल, सहरी बस्ती, नदी प्रणाली अन्य सहरभन्दा फरक छ ।”

छलफलमा विश्व बैंकको पूर्वाधार क्षेत्रका कार्यक्रम प्रमुख गायत्री सिंहले कामपाले विकास, निर्माण र विकास व्यवस्थापनका क्षेत्रमा कार्यरत साझेदार तथा सरोकार भएकासँग समन्वय गरी विपद् जोखिम न्यूनीकरणका लागि योजनाबद्ध रूपमा काम गर्नुपर्नेमा जोड दिए ।

बैठकमा वर्षाको पानी व्यवस्थापन गर्न नसक्दा हुनसक्ने समस्याका बारेमा छलफल भएको थियो । फोहर व्यवस्थापन, फोहर पानीको प्रशोधन, सहरी पूर्वाधारमा नदी प्रणाली, नदी प्रणालीमा सहरी पूर्वाधारको सम्बन्धलगायत पक्षबाट जोखिम न्यूनीकरण गर्न सकिने विषयमा सरोकार भएकाहरूसँग छलफल भएको थियो ।