बागलुङको दब्ल्याङमा पहिरो खस्दा कालीगण्डकी कोरिडोर अवरुद्ध


बागलुङ । अविरल वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा कोरिडोर अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार कोरिडोर अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन ठप्प भएका छन् । मेसिन ल्याएर सडक खुलाउने प्रयास भएको प्रहरी निरीक्षक थापाको भनाइ छ ।
सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात विच्छेद भएको छ । बागलुङ नगरपालिकाको विभिन्न स्थानसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारे लगायतका स्थानदेखि जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन ठप्प भएका छन् । कोरिडोर भएर बुटवल, भैरहवा लगायतका ठाउँमा चल्न सवारी साधन ठप्प हुनुका साथै मुक्तिनाथ जाने पर्यटक पनि रोकिनु परेको छ ।