दुबईमा अत्यधिक गर्मी, तापक्रम ५१ डिग्री सेल्सियस नाघ्यो


दुबई । संयुक्त अरब इमिरेट्स (युएई) को तापक्रम लगातार दोस्रो दिन शनिबार ५१.६ डिग्री सेल्सियस पुगेको राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ । “आज युएईको स्थानीय समयअनुसार १३ः४५ बजे स्वेइहान (अल ऐन) मा ५१.६ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ,” केन्द्रले शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।
अबुधाबी क्षेत्रमा शुक्रबार रेकर्ड गरिएको तापक्रमभन्दा यो १.२ डिग्री सेल्सियस बढी तापक्रम मापन गरिएको कार्यालयले जनाएको छ । सन् २००९ को मे महिनामा अत्यधिक ५०.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।
युएई पृथ्वीको सबैभन्दा तातो क्षेत्रहरू मध्ये एक मानिन्छ यो विशेष गरी जलवायु परिवर्तनको लागि संवेदनशील छ । युएई विश्वको एक शीर्ष वैश्विक तेल निर्यातकर्ता मुलुक हो भने यहाँको ठूलो क्षेत्र सुख्खा वातावरण (मरुभूमि) का लागि चिनिन्छ ।
वैज्ञानिकहरूले यहाँ बारम्बार देखिने वायुको उष्ण लहर विश्वव्यापी तापक्रम वृद्धिको स्पष्ट सङ्केत भएको बताएका छन् । विगत तीन दशकमा विश्वमा अत्यधिक गर्मी हुने दिनको संख्या झण्डै दोब्बर भएको छ । ग्रीनपीसको एक अध्ययनअनुसार सन् २०२२ मा जलवायु परिवर्तनका कारण मध्यपूर्वमा पानी र खाद्यान्नको अभावका साथै भीषण गर्मीको लहरको उच्च जोखिम देखिएको थियो ।
संयुक्त अरब इमिरेट्स (युएई) लगायत छ वटा देशलाई केन्द्रित गरी तयार पारिएको उक्त प्रतिवेदनमा यो क्षेत्र विश्वको औसतभन्दा झण्डै दुई गुणा बढी तापक्रम वृद्धि भइरहेको र यसले गर्दा यहाँको खाद्यान्न र पानीको आपूर्ति जलवायु परिवर्तनका लागि ‘अति संवेदनशील’ भएको पाइएको छ ।