Ad Image

अब लोडसेडिङ हुँदैन, हल्लाको पछि नलाग्नूस् : मन्त्री खड्का

User Image Mayorsap | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/dipak_khadka_mld8DKd84P_8SibQRpvQo_rCgrnaxiBP.jpg

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अब ‘लोडसेडिङ’ नहुने बताएका छन् । मन्त्री खड्काले आज साँझ कुलेश्वरस्थित कालीमाटी ‘नो लाइट’ शाखाको स्थलगत निरीक्षण गर्दै अब लोडसेडिङ नहुने र हल्लाको पछि नलाग्न आग्रह गरेका हुन् ।

सोही अवसरमा नो–लाइट शाखाअन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत् आपूर्तिको समस्या, उपभोक्ता गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे मन्त्री खड्काले जानकारी लिए । मन्त्री खड्काले हाल देशमा उत्पादन भइरहेको विद्युत्ले माग पूरा गर्न पर्याप्त रहेकाले अब लोडसेडि नहुने स्पष्ट पारे । “केही समूह वा व्यक्तिहरूले नियोजित रूपमा बजारमा हल्ला फैलाइरहेका छन्, त्यस्ता भ्रामक प्रचारको पछि नलाग्न आम जनसमुदायलाई अनुरोध गर्दछु,” उनले भने ।

विगतका वर्षमा विद्युत् प्रणालीमा अहिलेभन्दा बढी समस्या देखिने गरे पनि अहिलेको अवस्थामा विगतभन्दा तुलनात्मक रुपमा सहजता भएको मन्त्री खड्काले बताए । असामान्य मौसम, हावाहुरी वा चट्याङका कारण केही क्षणको समस्या देखिए पनि त्यो चाँडै समाधान भइरहेको उजको भनाइ थियो ।

मन्त्री खड्काले आजै स्युचाटारस्थित ‘लोड डिस्प्याच सेन्टर’को समेत आकस्मिक अवलोकन गरेका छन् । उनले उक्त सेन्टरमार्फत मुलुकभरको विद्युत् प्रवाह अवस्था नियाल्दै, प्रविधि र कर्मचारी व्यवस्थापनको स्थितिबारे जानकारीसमेत लिए । 

सेन्टरको निरीक्षण गर्दै उनले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई उपभोक्ताप्रति जिम्मेवार र जवाफदेही भएर काम गर्न निर्देशन दिए । बजारमा सञ्चालित अपुष्ट सूचना र असत्य प्रचारले आमजनतामा भ्रम सिर्जना गर्ने भन्दै त्यसप्रति सचेत रहनुपर्ने उनको भनाइ थियो ।

सरकारले लोडसेडिङको पुनरावृत्ति हुन नदिन प्रणाली सुदृढीकरण, आपूर्ति निरन्तरता र गुनासो व्यवस्थापनमा कडाई गर्ने नीति अवलम्बन गरेको मन्त्री खड्काले बताए । निरीक्षण टोलीमा मन्त्री खड्कासँगै ऊर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित अन्य प्राविधिक कर्मचारीको उपस्थिति थियो ।