Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

संसार हेर्ने अभिलाषा पूरा हुन लागेकामा महोत्तरीका ज्येष्ठ नागरिक मक्ख

User Image मेयरसाप डेस्क | २०८१ माघ १६ गते ०३:२२
Image of storage/news/1738120930.jpg

महोत्तरी । ‘फेउर स जिनगीमे इजोत आयल’ (फेरि जीवनमा उज्यालो फक्र्यो) मोतियाविन्दुले टालिएको आँखाको शल्यक्रिया गरेकी बर्दिबास–१० खयरमारा मुसहरीटोलकी ६५ वर्षीया दुलारी सदा मुसहरले प्रसन्न हुँदै भनिन्, ‘बुझलियै फेउर स हम पहिने सन देख पायब’ (बुझ्नुभयो, फेरि म पहिलेजस्तै देख्नसक्ने हुनेछु) ।'     
     
पछिल्ला १० वर्षयता मोतियाविन्दुले आँखा टालिदा अँध्यारो भएको संसार अहिलेको शल्यक्रियाले ज्योति फर्कने कुराले दुलारीको खुसीको सीमा छैन । देब्रे आँखाको शल्यक्रिया गरिएकी दुलारीको केहीपछि दाहिने आँखाको पनि गरिनुपर्ने चिकित्सकले सुझाएका उनीले बताउँछिन् ।     
     
दुलारीजस्तै सोही वस्तीका ७० वर्षीय रामचन्दर सदा पनि आँखाको मोतियाविन्दु हटाउने शल्यक्रियापछि अब उज्यालो संसार देखिने आशले दङ्ग छन् । “हेर्नुस् न हजुर, हामी गरिबले यो अवसर पाउनु भनेको भगवान् भेटेजत्तिकै हो”, नेपाली राम्रो बोल्न जान्ने रामचन्दरले भने, “सित्तैमा हामी मुसहरलाई यो मौका हतपत्त कहाँ जुर्छ र हजुर, यो जसले गराइदिनुभयो, उहाँलाई भगवान्ले हेरुन् ।”

 

मुसहर मधेसमा स्वास्थ्य, शिक्षा, सामाजिक र आर्थिक अवसरबाट निकै पछि परेको अति सीमान्तकृत जाति समुदाय हो । दुलारी र रामचन्दरजस्ता अतिविपन्न परिवारका आँखाको समस्या समाधान गरिदिन अहिले बर्दिबास आँखा अस्पतालको पहलकदमीमा इम्प्रुभिङ्ग लाइभ्स इन नेपाल नामक संस्थाले आर्थिक स्रोत जुटाइदिएको हो ।     
     
सोमबार र मङ्गलबार गरी एक सय जनाको आँखाको मोतियाविन्दुको जालो हटाउने शल्यक्रिया बर्दिबास जनसेवा अस्पतालमा सम्पन्न भएको छ । शल्यक्रिया गर्ने आँखाका बिरामी यसपटक अत्यन्त गरिब वस्तीबाट परेका दुईदिने यो शिविरको बर्दिबास आँखा अस्पतालका तर्फबाट समन्वय गर्ने मकुन्दप्रसाद पौडेलले बताए ।     
     
“आफ्नै आर्थिक स्रोतले आँखाको उपचार र शल्यक्रिया गराउनै नसक्ने अत्यन्त विपन्न परिवारका सदस्यले यसपालि अवसर पाएका छन्”, पौडेल भन्छन्, “आँखाका बिरामीको सर्वेकै क्रममा अत्यन्त गरिब बस्तीमा मोतियाविन्दुका बिरामी भेटेपछि इम्प्रुभिङ्ग लाइभ्स इन नेपालसँग अनुरोध गरिएको हो, सो संस्थाले सदासयतापूर्वक प्रस्ताव स्वीकार गरिदिँदा एक सय जनाले आँखाको ज्योति पाएका छन् ।” दुईदिने शिविरमा शल्यक्रिया गरिनेहरू अधिकांश बर्दिबास–१०, ११ खयरमाराका अतिविकट चुरेकाछका बस्तीका गरिब परेका पौडेलले बताए । खयरमारा बर्दिबास मुख्यचोकबाट ४० किलोमिटर दूरीमा पर्छ ।     
     
“हामी भनिन त बर्दिबास नगरकै छौँ, तर बिरामी पर्दा हामीले पहिले पुग्ने ठाउँ ४० किलोमिटर छिचोलेर बर्दिबास चोक नै हो”, बर्दिबास–१० की ७० वर्षीया जानकी यादव भन्छिन्, “धन्न यी डाग्डरबाबुले हाम्रो सम्झना गरेछन् र आँखाको जालो हटाउने मौका पाइयो ।” सोही बस्तीका ७५ वर्षीय सुरज यादव पनि मोतियाविन्दुको शल्यक्रियापछि फेरि संसार देखिने आसमा दङ्ग छन् ।     
     
शिविरमा जिल्लाकै रामगोपालपुर, जलेश्वर र मनराशिशवा नगर क्षेत्रका मोतियाविन्दुका बिरामी पनि लाभान्वित भएका छन् । ‘सोच्ने नै छली जे मुनायल आँइखक पर्दा फेरु उघरत’ (सोचेकै थिइनँ, जालोले ढाकेको आँखाको पर्दा फेरि उघ्रला) रामगोपालपुर–४ की ६५ वर्षीया कमोधियादेवी बरही भन्छिन्, ‘दश साल स खेपी रहल अन्हारक पीडा आब सब भुलागेल’ (दश वर्षदेखि खेप्दै आइएको अँध्यारोको पीडा अब सबै बिर्सियो) ।     
     
दुईदिने मोतियाविन्दु शिविरका लागि पहिलो चरणमा वस्ती चयन, दोस्रो चरणमा आँखा जाँच र तेस्रो चरणमा शल्यक्रियाको प्रबन्ध मिलाइएको बर्दिबास आँखा अस्पतालले जनाएको छ । तीनवटै चरणका लागि इम्प्रुभिङ्ग लाइभ्स इन नेपालले पाँच लाख ५० हजार रकम उपलब्ध गराएको अस्पतालका स्रोतव्यक्ति शिविरका समन्वयकर्ता पौडेलले जानकारी दिए ।     
     
शिविरमा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा अर्जुन श्रेष्ठ नेतृत्वको सात सदस्यीय टोलीले शल्यक्रियाको काम सम्पन्न गरेको हो । शल्यक्रिया गरिनेहरूमा एक जना ५० वर्षमुनिका र बाँकी सबै यो भन्दा माथिका छन् । अहिले एउटा आँखाको शल्यक्रिया गरिएका धेरैजसोको अर्को आँखाको पनि शल्यक्रिया गरिनुपर्ने चिकित्सकको सुझाव छ । शल्यक्रिया गरिएका बिरामीमा ५५ पुरुष र ४५ महिला रहेका बर्दिबास आँखा अस्पतालले जनाएको छ ।


Facebook Comments