Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

बाढीले क्षति पुर्याएको रोशी गाउँपालिकाको अस्पताल पुनःनिर्माण

User Image मेयरसाप डेस्क | २०८२ जेठ १२ गते १२:२४
Image of https://mayorsap.com/storage/photos/10/roshi ho.jpeg

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिकामा गत साल असोजको बाढीले बगाएको दस श्ययाको रोशी आधारभूत अस्पताललाई हाल पाँच श्ययाको अस्पतालमा पुनःनिर्माण गरिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को आर्थिक सहयोगमा निर्माण भएको उक्त संरचना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत रोशी गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । 

नवनिर्मित संरचनासहित औषधिलगायतका सामाग्री पनि ‘डब्लुएचओ’ले सहयोग गरेको हो । सङ्घीय सरकारको रु ६ करोड पाँच लाख २४ हजार बजेटद्वारा रोशी–१ मा निर्माण अन्तिम चरणमा पुगेको दश श्ययाको आधारभूत अस्पताल भवन बाढीले बगाएको थियो । त्यस यता ‘टेन्ट’बाट सेवा प्रदान गर्दै आइएको थियो । 

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले हाल अस्थायी रुपमा अस्पताल निर्माणका साथै स्वास्थ्य सामग्री समेत प्रदान गरेकामा आभार प्रकट गरे । उनका अनुसार उक्त अस्पतालले गाउँपालिकाको वडा नं। १, २, ३ र ४ का साथै छिमेकी नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकाका नागरिकले सेवा पाउने छन् । अध्यक्ष लामाले १० श्ययाको अर्को सुविधायुक्त अस्पताल निर्माणका लागि सम्बन्धित निकायमा प्रक्रिया थालिने बताए। डब्लुएचओका नेपाल प्रतिनिधि डा राजेश सम्भाजी रावपाण्डबले नेपालको स्वास्थ्य क्षेत्रमा संस्थाले सहयोग गरिरहेको र आगामी दिनमा पनि नेपाल सरकारसँग साझेदारी गर्दै अगाडी बढ्ने बताए। 

बढीपहिरोले गाउँपालिकामा निर्माण सम्पन्न भएका अस्पतालसहित तीन ठूला ‘गौरव’का आयोजना पूर्णरुपमा क्षति पुगेको थियो । बाढीपहिरोले रोशी–११ स्थित कालढुङ्गामा करिब ७० रोपनी जमिनमा निर्माण गरिएको तामाङ जातिको विशेषता झल्कने रु १४ करोडको लागतमा निर्माण भएको ‘डम्फु जीवन्त सङ्ग्रहालय’सहितको ९ डायमिटरको डम्फु, सङ्ग्रहालय भवन, पुस्तकालय भवन, पिकनिक स्थल, पार्किङ स्थल र बगैँचा रोशी खोलाले बगाएको थियो  सङ्ग्रहालय हाताभित्र करिब रु दुई करोडमा निर्माण गरिएको औद्योगिक ग्रामको प्रशासनिक भवन तथा शीतभण्डार र खानेपानी आयोजनाका संरचना पनि बाढीले बगाएको थियो 

बाढीपहिरोमा परी उक्त गाउँपालिकामा छ महिला, तीन पुरुष, एक बालक र तीन बालिका गरी १३ जनाको मृत्यु भएको थियो भने चार सय ८२ घर पूर्णरुपमा तथा आठ सय ८३ घर आंशिक रुपमा क्षति पुगेको थियो । गाउँपालिका कार्यालयको तथ्याङ्कअनुसार बाढीपहिरोले दुई हजार पाँच सय ४४ परिवारको खेतबारीमा क्षति पुगेको थियो भने एक सय ६० खानेपानी आयोजना, एक पक्की पुल, ४७ विद्यालय, चार स्वास्थ्य केन्द्रमा क्षति पुगेको थियो । 


Facebook Comments