Ad Image

सरकार र व्यवसायीबीचको वार्ता निष्कर्षविहीन, मंगलबार पनि यातायात नचल्ने

User Image मेयरसाप डेस्क | ४ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/yatayat.jpg

काठमाडौं । सरकार र यातायात व्यवसायीबीचको वार्ता निष्कर्षविहीन भएको छ । सोमबार गृह मन्त्रालयमा यातायात व्यवसायी र सरकारबिच भएको वार्ता विनानिष्कर्ष टुंगिएपछि मंगलबार पनि देशभर सार्वजनिक यातायात नचल्ने भएको छ ।  

वार्ता निष्कर्षविहीन भएपछि भोलि साढे १० बजे बस्ने गरी बैठक स्थगित भएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलले जानकारी दिए । छलफल सकारात्मक ढंगले अगाडी बढेको उनले बताए । 

अरु बुँदामा सहमति नजिक कुराकानी भएपनि गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ विधेयक फिर्ता गर्नुपर्ने मागमा सहमति जुट्न नसकेको बताइएको छ । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँरले भने, ‘तपाईंहरू नियमावली स्थगित गर्नुस्, हामी आन्दोलन स्थगित गर्छौँ भनेका थियौँ, वार्ता सकारात्मक भए पनि निष्कर्षमा पुग्न भने सकिएन।’ उनका अनुसार मंगलबार पनि देशभर सार्वजनिक यातायातका साधन चल्ने छैनन् । 

मुख्यतः गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङ नियमावलीविरुद्ध देशभरका यातायात व्यवसायी सार्वजनिक सवारी बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।