बेरोजगार युवाहरुलाई पञ्चेबाजा तालिम दिँदै म्याग्दे गाउँपालिका


तनहुँ । सीपयुक्त बनाउँदै संस्कृति संरक्षण, प्रवर्द्धनसहित स्वरोजगार बनाउने उद्देश्यले जिल्लाको म्याग्दे गाउँपालिकाले पञ्जेबाजा तालिम सञ्चालन गरेको छ । कला, संस्कृतिको संरक्षणसँगै सीपयुक्त बनाउन पञ्चेबाजा तालिम दिइएको हो । सीपको अभावमा बेरोजगार रहेका महिला, पुरूषलाई सीपको विकास गरी आत्मनिर्भर बनाउन, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न सीपमूलक पञ्चेबाजा तालिम दिइएको पालिकाले जनाएको छ ।
सीपमार्फत पालिकावासीलाई आत्मनिर्भर बनाउन सहयोग पुर्याउने लक्ष्यसहित म्याग्दे–६ का १९ महिला तथा पुरूषलाई पञ्चेबाजा बजाउने तालिम प्रदान गरिएको पालिकाको आर्थिक विकास शाखाका प्रमुख प्रदीप न्यौपानेले जानकारी दिए । उनले यहाँका युवायुवतीलाई सीप सिकेर आत्मनिर्भर र स्वावलम्बी बनाउने प्रयास थालिएको भन्दै यसले संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण हुने विश्वास व्यक्त गरे ।
गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा)मार्फत सीप सिकाएपश्चात् उद्यमी बन्नेक्रम बढेको गाउँपालिकाले जनाएको छ । सीप नभएका व्यक्तिलाई सहभागी गराएर सीप सिकाउन पालिका लागिरहेको न्यौपानेले बताए ।
सीप सिक्न र उद्यमी बन्न चाहनेका लागि घरधुरी सर्वेक्षण, अभिमुखीकरण र उद्यमशीलता विकास तालिम सञ्चालन गरिएको बताउँदै उनले आर्थिक वर्ष २०८१र८२ मा ६८ जनालाई तालिम प्रदान गरिएको जनाए । उनका अनुसार गरिबी निवारणका लागि तालिम सञ्चालनमा ल्याइएको हो ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कला, संस्कृतिको संरक्षण, व्रवर्द्धन र पुस्तान्तरणका लागि पञ्चेबाजा तालिम प्रभावकारी हुने विश्वास लिए । तालिमपश्चात् स्थायीय स्वारोजगार बन्नुका साथै आयआर्जनका स्रोत विस्तार हुँदै जाने उनले बताए ।
गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सिकेको सीपलाई प्रयोगमा ल्याएर कला, संस्कृतिको जगेर्ना गर्दै आयसँग जोडेर आत्मनिर्भर र स्वावलम्बी बन्नेतर्फ योजना बनाउन तालिममा सहभागीलाई आग्रह गरे ।
सिकेको सीपलाई व्यवसायमा परिणत गरी आत्मनिर्भरताका साथ अगाडि बढ्नसके आम्दानीको स्रोत बनाउन सकिने म्याग्दे–६ का वडाध्यक्ष हिरालाल गुरुङले बताए । उनले वडाले कला, संस्कृतिको संरक्षण र संवर्द्धनका लागि लक्षित समुदायलाई आवश्यक सीप सिकाउने कार्य गरिरहेको दाबी गरे ।
गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले स्थानीय समुदायलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम प्रदान गरिएको बताए । रोजगारी नपाई बसेका स्थानीय युवाबाट माग भएबमोजिमका तालिम सञ्चालन गरिएको भन्दै सीप सिकेपछि स्वरोजगारका अवसर वृद्धि हुने विश्वास व्यक्त गरे । नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष डिपी अधिकारीले लोपोन्मुख संस्कृतिको जगेर्ना गर्न सञ्चालन गरिएको तालिमले सीपयुक्त भएर आत्मनिर्भरतातर्फ अगाडि बढ्न प्रेरित गर्ने बताए । उनले तालिममा सिकेका सीपको उपयोग गरी स्वरोजगार बन्न सुझाव दिए ।
उद्यमशीलता र सीपमूलक तालिमबाट स्वदेशी तथा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नु, स्थानीय तहमा आर्थिक समृद्धि हासिल गर्नु, स्थानीयस्तरमा उत्पादन र उत्पादकत्व वृद्धि गर्नु, स्थानीय क्षेत्रमा उद्यमशीलता प्रवर्द्धन गरी रोजगारी र आय वृद्धि गर्नु, नवप्रवर्द्धनलाई अवलम्बन गरी समावेशी र दिगो आर्थिक विकास हासिल गर्नुलगायत लक्ष्य गाउँपालिकाको रहेको छ । पञ्चेबाजा तालिम म्याग्दे६ मनपाङ र अकलामा सञ्चालन भइरहेको छ ।