अख्तियारले लिन थाल्यो सहसचिव भट्टराईको बयान


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको भिजिट भिसा प्रकरणमा मुछिएका सहसचिव तीर्थराज भट्टराईमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिन थालेको छ ।
अख्तियारले आइतबारदेखि भट्टराईको बयान लिन थालेको हो । डिजिटल फरेन्सिक ल्याबबाट रिपोर्ट आएसँगै त्यही विषयमा उनीसँग बयान लिन थालेको हो । साथै उनीबारे केही प्रमाणसमेत संकलन भएकाले त्यसबारे समेत सोधपुछ सुरु भएको जनाएको छ ।
अख्तियार स्रोतका अनुसार, अध्यागमन कार्यालयबाट केही कर्मचारीहरुले मानव तस्करीको काम समेत गरेको खुलेको छ । नेपाली महिला कामदारका लागि जोखिमयुक्त मुलुकमा लैजानका लागि भिजिट भिसाको प्रयोग गर्ने क्रममा चर्को रुपमा असुलीको काम भइरहेकोबारे केही सूचना आएको र त्यसबारे समेत अनुसन्धान भइरहेको अख्तियार स्रोतले बतायो ।
अख्तियारमा नियमित बयान दिन जानुपर्ने भएपछि गृहमन्त्रालयका सहसचिव भट्टराई एक दिन गृह मन्त्रालयमा हाजिर भएर बिदामा बसेका छन् । उनलाई कार्यालयले दिएको र व्यक्तिगत दुवै फोन अख्तियारले जफत गरेको छ ।
अध्यागमनका कतिपय कर्मचारीले त भिजिट भिसाको सेटिङकै लागि विदेशी सीमकार्ड समेत प्रयोग गर्दै आएको खुलिसकेको छ । अख्तियारले पहिलो चरणमा भट्टराई र दोस्रो चरणमा अन्य कर्मचारीमाथि छानबिन अघि बढाउँदैछ । अध्यागमनमा पछिल्लो समय रेट बढाएर भिजिट भिसाको असुली बढेको आधारमा अख्तियारले ‘अन्डरकभर अप्रेसन’ चलाएको थियो ।
गृह मन्त्रालयले गर्ने अध्यागमनका कर्मचारीको सरुवामा चलखेल बढ्नु, सरुवामा प्रत्यक्ष रूपमा गृहमन्त्री रमेश लेखकको सचिवालय हावी हुनु र त्यही समयमा अध्यागमनमा सेटिङ बढ्नुले यसमा गृहमन्त्री रमेश लेखकको समेत संरक्षण र मिलेमतो रहँदै आएको आरोप लाग्दै आएको छ । सहसचिव भट्टराई यही जेठ ७ गते पक्राउ परेपनि हाजिरी जमानीमा छुटेका छन् ।