सुरक्षाको कारण देखाउँदै दर्जन बढी देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध


काठमाडौं । सुरक्षा जोखिमलाई कारण देखाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्णप्रतिबन्ध लगाएका छन् । ट्रम्पले अफगानिस्तान, म्यानमार, चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरुलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् ।
यसैगरी ट्रम्पले बुरुन्डी, क्युबा, लाओस, सिएरालियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूलाई आंशिक रुपमा प्रतिबन्ध लगाउने घोषणामा पनि हस्ताक्षर गरेका छन् । यात्रा प्रतिबन्धको निर्णय ९ जुनदेखि लागु हुनेछ ।
अमेरिकी ग्रिनकार्ड भएका र ९ जुनभन्दा अघि नै भिसा लागिसकेका व्यक्तिहरुको हकमा भने यो नियम लागु नहुने बताइएको छ । अमेरिकी जनतालाई हानि पुर्याउन चाहने खतरनाक विदेशी तत्वहरूबाट जोगाउन राष्ट्रपति ट्रम्पले प्रतिबद्धता पूरा गरिरहेको ह्वाइट हाउसकी उपप्रवक्ता अबिगेल ज्याक्सनले बताएकी छन् ।
अमेरिकाको यो निर्णयबाट अफगानिस्तान सबैभन्दा बढी प्रभावित हुनसक्ने सम्भावना छ । किनकि ट्रम्पले भनेजस्तै भिसा अवधि नाघ्ने दर अफगानिस्तानका विद्यार्थीहरुको २९।३ प्रतिशत छ । अफगानिस्तान तालिबानको नियन्त्रणमा छ । तालिबान अन्तर्राष्ट्रिय आतंकवादी संगठनको रूपमा अमेरिकाको सूचीमा छ ।
इरानप्रतिको अमेरिकी बुझाइ पनि आतंकवादलाई सहयोग गर्ने राष्ट्रको रूपमा छ । इरानले अमेरिकी अधिकारीहरूसँग सहयोग आदानप्रदान गर्न अस्वीकार गर्ने गरेको ट्रम्पको आरोप छ । लिबिया, सोमालिया र यमनजस्ता देशहरूमा सुरक्षित कागजात जारी गर्न सक्ने सक्षम सरकार नभएको ट्रम्पको ठहर छ ।
त्यसैले ट्रम्पले भनेका छन्, ‘हामी त्यस्ता कुनै पनि देशबाट खुला आप्रवासन स्वीकार गर्न सक्दैनौं, जहाँबाट अमेरिका प्रवेश गर्न चाहने व्यक्तिहरूको सुरक्षित र भरपर्दो जाँच तथा छानबिन सम्भव हुँदैन ।’