जल प्रकोप न्यूनीकरणका लागि नगर प्रहरीको उद्धार अभ्यास सम्पन्न


काठमाडौं । सम्भावित जल प्रकोप न्यूनीकरण र आपत्कालीन तयारीलाई सुदृढ गर्न काठमाडौं महानगर प्रहरी बलले आज रानीपोखरीमा कृतिम उद्धार अभ्यास सम्पन्न गरेको छ । अभ्यासमा डुङ्गाबाट खसेर हराएको व्यक्तिलाई पानीबाट खोजी गरी निकालिएको थियो ।
महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीका अनुसार बाढी, डुवान र जल प्रकोपको जोखिम न्यूनीकरणका लागि गरिएको यो अभ्यास नगर प्रहरीको पूर्वतयारीलाई सशक्त बनाउने उद्देश्यले गरिएको हो । “चैतमा २० जनालाई विपद् व्यवस्थापन तालिम दिइएको थियो । अब उनीहरूको सीपलाई व्यवहारिक अभ्यासमार्फत निखार्ने काम भइरहेको छ,” जोशीले बताए ।
कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम केन्द्रमा प्राप्त तालिममा उद्धार, अग्निनियन्त्रण, जल प्रकोप व्यवस्थापन, डोरीमार्फत उद्धार र मृत शरीर व्यवस्थापनसम्बन्धी ज्ञान प्रदान गरिएको थियो ।
महानगरले वर्षा पूर्व तयारीस्वरूप नदी तथा मंगालको सफाइ, ढल व्यवस्थापन र डुवान न्यूनीकरण अभियान पनि अघि बढाएको छ । फोकल पर्सन सानुमैया महर्जनका अनुसार मनोहरा विष्णुमती, बल्खु, धोबीखोला लगायत खोलाहरूको फोहर, माटो र निर्माणजन्य सामग्री हटाउने काम भइरहेको छ ।